काठमाडौँका अस्पतालमा ५८ घाइते उपचाररत, १०२ ‘डिस्चार्ज’
काठमाडौँ, १६ भदौ : रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परी घाइते भएकामध्ये ५८ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार १०२ जना घाइते उपचारपछि घर फर्किएका छन् ।
बाढीपछि उद्धार गरी उपचारका क्रममा काठमाडौँ ल्याइएका १६२ घाइतेमध्ये दुई जनाको अस्पतालमा मृत्यु भएको छ । एक जनाको राष्ट्रिय ट्रमा सेन्टर र अर्काेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ३१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना, वीर अस्पतालमा पाँच जना, ह्याम्समा एक जना, नर्भिकमा एक जना, प्रसूतिगृह थापाथलीमा दुई जना, ग्राण्डीमा दुई जना, सशस्त्र प्रहरी अस्पतालमा एक जना, मनमोहन अस्पतालमा एक जना र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा एक जना उपचाररत रहेका ती अस्पतालले जनाएका छन् ।
त्यसैगरी बाढीमा परी मृत्यु भएका तथा फेला परेका शवमध्ये ९९ वटा शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको प्रहरीले जनाएको छ । अस्पतालमा ९७ वटा शव ल्याइएकामा उपचारका क्रममा मृत्यु भएका दुई जनाको शवसमेत थपिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता थापाका अनुसार त्रिवि शिक्षण अस्पतालमा ल्याइएका शवमध्ये ९३ वटाको ‘पोस्टमार्टम’ भएको छ भने छ वटा शवको ‘पोस्टमार्टम’ गर्न बाँकी छ । ‘पोस्टमार्टम’ गरिएकामध्ये १२ वटा शव आफन्तले बुझेर लगिसकेका छन् ।
भोटेकोशी बाढी : जुम्लाका २८ जना सम्पर्कमा आए
रसुवा बाढीपछि हराइ रहेका जुम्लाका नागरिकमध्ये हालसम्म २८ जना सम्पर्कमा आएका छन् । सबैभन्दा बढी पातारासी गाउँपालिकाबाट रोजगारीका लागि रसुवा पुगेका ७६ जनामध्ये हालसम्म २३ जना मात्र सम्पर्कमा आएकोे गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले स्थानीय तहबाट प्राप्त विवरण अनुसार कामको लागि जुम्लाबाट रसुवा पुगेका ९९ जनाको नाम ठेगाना पुष्टि भएको छ । बाढीपछि हराइ रहेकामध्ये थप पाँच जना सम्पर्कमा आएका भए पनि ठेगाना प्रमाणित गर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी प्रसाईको भनाइ छ ।
जिल्लाबाट कामको शिलसिलमा रसुवा पुगेका अधिकांश पूरुष रहेका छन् । सम्पर्कविहीन यहाँका ७१ जना नागरिकको खोजी र उद्धारकार्यको लागी सम्बन्धी निकायसंग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी प्रसाईंले बताउनुभयो । सम्पर्क विहिनका आफन्तले खोजी कार्यका लागि स्थानीय प्रशासन मार्फत हारगुहार गरिरहेको पातारासी गाउँपालिका पदाधिकारीले जनाएका छन् ।
भक्तपुरका हराइरहेकामध्ये छ जना सम्पर्कमा
ख्वप (भक्तपुर), १६ भदौः रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि भक्तपुरका हराइरहेकामध्ये छ जना सम्पर्कमा आएका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार भक्तपुर ठेगाना भएका १९ जना बाढीपछि सम्पर्कविहीन भएका विवरण प्राप्त भएको छ । सम्पर्कविहीनमध्ये छ जना सम्पर्कमा आएका छन् भने भक्तपुरका इञ्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु भएको पुष्टि भइसकेको उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयमा बाहिरी जिल्ला ठेगाना भएका ५६ जना व्यक्तिसमेत सम्पर्कविहीन भएका विवरण प्राप्त भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । तीमध्ये दुई जना सम्पर्कमा आएका र एक जना काठमाडौँस्थित वीर अस्पतालमा उपचाररत रहेका उहाँले बताउनुभयो ।
यसैबीच, वातावरण संरक्षण समितिका अध्यक्ष सत्यसुन्दर प्रजापतिका मामा न्हुछेबहादुर प्रजापतिले भन्जाको शव यही भदौ १२ गते फेला परेको जानकारी दिनुभयो । “बाढी गएको आज सात दिन भइसकेको छ, सरोकार भएका निकायले खोज तथा उद्धारलाई तीव्रता दिई नागरिकको सकुशल उद्धारमा जुट्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो । भदौँ १० गतेदेखि आजसम्म सेना, हवाई माध्यम, ड्रोनको सहायताले निरन्तर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
रासस
