Gaura Parvva
काठमाडौ : भाद्र १७
सुदूरपश्चिमको मौलिक धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको गौरा पर्व बिरुडा भिजाएर हर्षोल्सासका साथ सुरु भएको छ । भाद्र कृष्ण पक्षको पञ्चमीका दिन व्रर्तालुहरुले तामा वा पित्तलको भाँडोमा पाँच प्रकारका अन्नहरु गहुँ, केराउ, गहत, मास र गुराँस अर्थात बिरुडा भिजाएसँगै यो पर्वको औपचारिक सुरुवात भएको हो । विशेषगरी, भगवान शिव र माता गौरीको पूजा–आराधना गरी मनाइन्छ । यो दाम्पन्य जीवनको सुख समृद्धिसँग जोडिएको पर्व हो ।
ती बिरुडालाई षष्ठीका दिन पवित्र जलाशयमा धोएर घरमा भित्राउने गरिन्छ । अष्टमीका दिन व्रत बसेका महिलाहरुले बिरुडा र दूर्वा (दुबो) द्वारा माता गौराको श्रद्धापूर्वक पूजा गर्दछन् । त्यसैले यस दिनलाई गौराष्टमी तथा दुर्वाष्टमी पनि भन्ने गरिन्छ । व्रत बस्ने महिलाहरुले फलफूल मात्र खाएर पवित्र रुपमा यो अवधि पार गर्दछन् । पुरुषहरुले यसै अवसरमा नयाँ दुबधोगो (पवित्र धागो) धारण गर्दछन् । जसले जीवनमा सुख, शान्ति र पारिवारिक समृद्धि ल्याउने जनविश्वास रहेको छ । यो पर्वले मानिसहरुमा आध्यात्मिक शुद्धता र धार्मिक निष्ठाको सञ्चार गर्दछ ।
यो पर्वको प्रमुख सांस्कृतिक पक्ष भनेको यसको लोक अभिव्यक्ति हो । गौरापर्वको अवसरमा गाउँका देवालय तथा खुला चौरहरुमा महिला तथा पुरुषहरु एकत्रित भएर परम्परागत फाग, चैत, धुमरी र देउडा गायन तथा नृत्यमा सहभागी हुन्छन् । यसै लोकगाथा र लोकगीतहरुको माध्यमबाट पौराणिक कथाहरु, सामाजिक विसङ्गतिहरु र समसामयिक भोगाइहरु व्यक्त गरिन्छन् । पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको यो गायन र नृत्य शैलीले सुदूरपश्चिमको लोकजीवन र कलालाई जीवन्त बनाएको छ । यसले सुदूरपश्चिम क्षेत्रको भाषा, साहित्य, र कलाको संरक्षणमा योगदान पु¥याउँदै आएको छ ।
सामाजिक सद्भाव र मेलमिलापको बलियो कडी गौरा पर्वको सबैभन्दा अर्को सुन्दर पक्ष भनेको यसले निर्माण गर्ने सामाजिक वातावरण हो । यस पर्वले समाजमा आपसी सद्भाव, भाइचार र मेलमिला बढाउन महत्वपूर्ण भूमिका खेल्दछ । सबैप्रकारका मनमुटाव र भेदभाव बिर्साएर सबैजना एउटै स्थानमा भेला भई गोलाकार भएर देउडा खेल्ने दृश्यले सामाजिक एकताको सन्देश दिने यो पर्वले सामाजिक सम्बन्धमा नयाँ ऊर्जा, एकता र प्रगाढता थप्ने कार्य गरेको पाइन्छ ।
गौरा पर्व सुदूरपश्चिमको भूगोल र समाजको एउटा अद्वितीय पहिचान पनि हो । वर्तमान आधुनिकताको प्रभाव र युवा पुस्ताको पश्चिमा संस्कृतितर्फको आकर्षणका बीच पनि गौरा पर्वले आफ्नो मौलिकता, पहिचान र अमूल्य सांस्कृतिक सम्पदालाई अक्षुण्ण राखेको छ । यो पर्वलाई क्षेत्र विशेषको रुपमा मात्रै सीमित नराखी यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्न सके यसले नेपालको सांस्कृतिक पर्यटनमा समेत टेवा पु¥याउन सक्दछ ।
