कास्की, भदौ १९। पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको कारका चालकले नियन्त्रण गुमाउँदा पोखरा–१८ गैरीचौतारा घुम्तीमा भारतीय नम्बर प्लेटको कार बिहान ४:५० बजे फेवातालमा खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपकप्रसाद रिजालका अनुसार मृत्यु हुनेमा भारतको विहार प्रदेश, इस्ट चम्पारण जिल्ला रक्सोल घर भएका २६ वर्षीय नवदीपकुमार यादव तथा पहिचान नखुलेका अर्का एक भारतीय पुरुष रहेका छन् ।
उद्धार टोलीले फेवातालको पानीभित्रबाट उहाँहरुलाई अचेत अवस्थामा निकालेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक रिजालले बताउनुभयो । दुर्घटनापछि उद्धार गरिएका भारतको विहार प्रदेश, मोतिहारी जिल्ला रक्सोल घर भएका २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादवलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।
दुर्घटनामा परेको भारतीय नम्बर बिआर ०५ बिबी ६७५९ को कारलाई क्रेनको सहायताले फेवातालबाट निकालेर वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक रिजालले जानकारी दिनुभयो ।
रासस
