कपिलवस्तु, २१ भदौः सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक ड्रागन फ्रुट खेती सुरु गर्नुभएको छ ।
करिब डेढ वर्षअघि चार कट्ठा जमिनमा सुरु गरिएको खेतीबाट उहाँले हालसम्म तीन पटक फल उत्पादन गरिसक्नुभएको छ । रुपन्देहीको रानीबगियाबाट ६२८ बिरुवा खरिद गरी १५७ पोलमा चार–चार वटा बिरुवा रोपेर खेती सुरु गरिएको बेलवासेले बताउनुभयो ।
उहाँले प्रतिबिरुवा रु १६० का दरले खरिद गर्नुभएको हो । बिरुवा अझै पूर्ण रूपमा परिपक्व नभएकाले उत्पादन बढ्न केही समय लाग्ने उहाँको भनाइ छ । “अहिलेसम्म तीन पटक फल टिपेका छौँ । चौथो पटक फल टिप्ने तयारीमा छौँ । आगामी वर्षदेखि उत्पादन उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरेको छु,” उहाँले भन्नुभयो ।
ड्रागन फ्रुटको बजार राम्रो भएकाले बिक्रीका लागि समस्या नरहेको बेलवासेले बताउनुभयो । उहाँका अनुसार अहिले प्रतिकिलोग्राम रु ४०० सम्ममा बिक्री भइरहेको छ । फल उत्पादन भएपछि ग्राहकहरू घरमै आएर खरिद गर्ने गरेको उहाँले बताउनुभयो ।
रासस
