सर्लाही, भदौ २१। धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सर्लाहीको नाढीमन ताल परिसरमा पुनः पर्यटकीय गतिविधि बढ्दै गएको छ ।
जैविक विविधता युक्त यस ताललाई केही समय पहिला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशको १०० पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको थियो तर आन्तरिक व्यवस्थापन र तालको पर्यटन प्रवद्र्धनमा बेवास्ता हुँदा लामो समय सुनसान प्राय बनेको तालमा फेरि एक पटक चहलपहल सुरु भएको हो ।
बाउन्न बिगाहा क्षेत्रफल रहेको भनिएको यस नाढीमन ताल चन्द्रनगर गाउँपालिका–६ र ७ मा फैलिएको छ । चारै तर्फबाट अतिक्रमणको चपेटामा परेको तालको अहिले ३५ बिगाहा क्षेत्र पानीले ओगटेको छ भने बाहिरी भागको दक्षिण पश्चिम क्षेत्रमा मिथिला कलाघर, ‘चिल्ड्रेन पार्क’, निर्माण भएको छ ।
तालको चारैतिर सडकसहितको ड्याम निर्माण गरी पर्यावरणीय हिसाबले विकास गर्ने गरी वृक्षरोपणका कार्यक्रम पनि अघि सारिएको पालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो । ताल परिसरमै निर्माण भएको साबिक गाविस कार्यालय, श्री मरीचि मानेश्वर महादेव मन्दिर, धर्मशाला भवन र गाउँपालिकाको प्रशासनिक भवनले तालको केही क्षेत्र ओगटेको छ ।
प्रशस्त सम्भावना बोकेको यस ताल २०८१ सालमा ठेकेदारले माछा निकाल्न भनेर सुकाएपछि गौचरनमा परिणत भएको थियो । त्यसपछि बिस्तारै पुरानो अवस्थामा फर्कंदै गएको तालमा अहिले पानी भरिभराउ भएको छ । तालमा पानी आउने कुनै ठूलो स्रोत छैन । यहाँ जमिन मुनिबाट नियमित जरुवा पानी निस्कने गरेको छ । यसैबाट ताल सधैँ भरिभराउ रहने गरेका अध्यक्ष महतोले बताउनुभयो ।
लामो समय अस्तव्यस्त बनेको ताल सुन्दर बन्दै गएसँगै पर्यटक आउन थालेका स्थानीय व्यापारी लक्ष्मी सिंहले जानकारी दिनुभयो । आन्तरिक तथा बाह्य भारतको विहार राज्यका विभिन्न जिल्लाबाट आउने पर्यटकका कारण स्थानीय व्यापारीहरू उत्साहित हुनुहुन्छ । शनिबार ताल परिसरको पार्कमा छोरा घुमाउन आउनुभएको सर्लाहीको बरहथवा–५ निवासी बुद्धबहादुर थिङले ताल परिसर सुनेकोभन्दा सुन्दर रहेको प्रतिक्रिया दिनुभयो ।
रासस
