काठमाडौं, भदौ २५ । ग्यास उद्योगीलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज पदबाट राजीनामा दिनुभएको छ।
मन्त्री यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीलाई ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्ति दिनुभएको थियो। उहाँले नेपालमा आवश्यकताभन्दा बढी एलपी ग्यास उद्योग सञ्चालनमा रहेको भन्दै उद्योगीमाथि कडाइ गर्नुपर्ने धारणा राख्नुभएको थियो।
उहाँको उक्त अभिव्यक्तिप्रति ग्यास उद्योगी तथा निजी क्षेत्रले तीव्र असन्तुष्टि जनाएका थिए। नेपाल एलपी ग्यास उद्योग संघले प्रमाणबिना उद्योगीलाई दोषी देखाउने र धम्कीपूर्ण भाषा प्रयोग गर्ने काम आपत्तिजनक भएको जनाएको थियो। निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले पनि मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको थियो।
ग्यासको आपूर्ति संकटका बीच मन्त्री यादवले उद्योगीलाई लक्षित गर्दै कडा अभिव्यक्ति दिनुभएको थियो। उहाँले उद्योगीको ‘पाता नफर्काएसम्म ग्यास सहज नहुने’ निष्कर्षसमेत सार्वजनिक रूपमा राख्नुभएको थियो।
त्यसको एक दिनपछि नै उहाँले प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा बुझाउनुभएको हो। उहाँलाई विवादित अभिव्यक्ति पछि राजीनामा दिन रास्वपाका सभापति र प्रधानमन्त्रीले दबाब दिएको बुझिएको छ ।
मन्त्री यादवको राजीनामासँगै ग्यास आपूर्ति संकट समाधान गर्न सरकारको नियमन शैली, निजी क्षेत्रसँगको सम्बन्ध र मन्त्रीको सार्वजनिक अभिव्यक्तिको मर्यादाबारे समेत बहस चर्किएको छ।
विशेषगरी उपभोक्ताले ग्यासको अभाव झेलिरहेका बेला समस्या समाधानका लागि उद्योगीलाई धम्की दिनेभन्दा आपूर्ति व्यवस्थापन र नियमनमा प्रभावकारी कदम चाल्नुपर्ने आवाज उठिरहेको छ।
