दलबदलु छविका साहले ग्यास आपूर्ति पार्लान् त सहज?
काठमाडौं, २५ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीबाट गौरीकुमारी यादवको राजीनामापछि बिहीबार नियुक्त भएका दीपक साहले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथसमेत लिइसक्नुभएको छ ।
साहको परिचय भने केवल रास्वपाका सांसदमा सीमित छैन। उहाँ छोटो अवधिमै विभिन्न राजनीतिक दल चाहारेर रास्वपामा समाहित भई राजनीतिक लाभ लिन सफल व्यक्ति हुनुहुन्छ ।
पेशाले इञ्जिनियर रहे पनि उहाँको राजनीतिक पृष्ठभूमि भने त्यति सीधा छैन।
साह सीके राउत नेतृत्वको जनमत पार्टीका संस्थापक मध्ये एक हुनुहुन्थ्यो तर तीन वर्ष अघि उहाँ पार्टी अनुशासनको कारबाहीमा परेपछि नयाँ पार्टी गठन गर्नतिर लाग्नु भएको थियो।
जनमत पार्टीले २०८२ सालमा साहलाई उपाध्यक्ष पदबाट निलम्बन गर्दै पछि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो। पार्टीले साहमाथि अध्यक्ष सीके राउतविरुद्ध गतिविधि गरेको, पार्टी फुटाउन गुटगत बैठक गरेको र पार्टी अनुशासन उल्लङ्घन गरेको आरोप लगाएको थियो। पार्टीले उहाँको स्पष्टीकरण चित्तबुझ्दो नभएकोसमेत जनाएको थियो।
जनमतबाट अलग भएपछि साहको राजनीतिक यात्रा त्यहीँ रोकिएन। उहाँले नेतृत्व गरेको समूहले जनस्वराज पार्टी गठन गर्यो र निर्वाचन आयोगले त्यसलाई दलका रूपमा दर्ता पनि गरेको थियो।
तर सर्वोच्च अदालतले जनमत पार्टी विभाजनसम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णय बदर गर्दै जनस्वराज पार्टीको वैधानिकता समाप्त गरिदियो।
त्यसपछि साहले सर्वोदय पार्टी गठन गरी केही समयपछि सर्वोदय र उज्यालो नेपाल पार्टीबीच चुनावी सहकार्यसमेत भयो। अन्ततः साह पार्टीलाई रास्वपामा विलय गराई रास्वपाकै चुनाव चिह्नबाट सुनसरी–४ मा उम्मेदवार बनी रास्वपाको लहरमा चुनाव जितेर सांसद हुनुभएको व्यक्ति हो।
निर्वाचन परिणामले ठूलो मतान्तरले विजयी भएपनि छोटो समयमा विभिन्न दल परिवर्तन गर्दै आएका व्यक्ति हुनाले उहाँको राजनीतिक रुपमा अवसरवादी छवि प्रदर्शन गर्दछ ।
उद्योग मन्त्री बन्न सफल साहको सबैभन्दा ठूलो चुनौती अब राजनीतिक होइन, कार्यसम्पादन हुनेछ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अहिले ग्यास आपूर्ति, औद्योगिक वातावरण, लगानी, व्यापार सहजीकरण, आपूर्ति व्यवस्थापन र निजी क्षेत्रसँगको सम्बन्धका कारण संवेदनशील अवस्थामा छ।
यसअघि यही मन्त्रालय सम्हालेकी गौरीकुमारी यादवले ग्यास उद्योगीप्रति दिएको विवादास्पद अभिव्यक्तिपछि निजी क्षेत्रसँग तनाव बढेको थियो र उहाँले बिहीबार राजीनामा दिनुपरेको हो।
यस्तो अवस्थामा जलविद्युत, ठेक्का, लागत अनुमान, गुणस्तर परीक्षण र वातावरणीय अडिटमा काम गरेको प्राविधिक व्यक्तिलाई उद्योग मन्त्रालयमा ल्याउनु एक अर्थमा तर्कसंगत छनोट पनि हुन सक्छ।
तर प्राविधिक योग्यता आफैंमा सफल मन्त्री बन्न पर्याप्त हुँदैन।
अझ महत्वपूर्ण कुरा, साहको राजनीतिक इतिहासले उहाँलाई जनमत पार्टीसँगको विवाद, निष्कासन, नयाँ पार्टी निर्माण, सर्वोच्च अदालतबाट जनस्वराजको वैधानिकता खारेज हुनु र त्यसपछि रास्वपामा प्रवेश गरेर केही महिनामै मन्त्री बन्नु जस्तो छविले स्थिर राजनीतिकका रुपमा उभ्याएको छैन।
त्यसैले साहका लागि यो नियुक्ति उहाँको राजनीतिक स्थायित्व, प्रशासनिक क्षमता र आफूले बोकेको प्राविधिक दक्षतालाई सार्वजनिक नीतिमा परिणत गर्ने क्षमताको परीक्षा हो।
