काठमाडौं, भदौ २६ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति तिरेको छ ।
प्राधिकरणको सञ्चालक समिति बैठकले सुर्खेतको पञ्चपुरी नगरपालिका–२ श्रीचौर, कोटधारामा निर्माणाधीन पक्की पुलको उचाइका कारण ११ केभी प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी ८ वर्षीया रश्मी जैसीलाई १३ लाख ८१ हजार ३७२ रुपैयाँ क्षतिपूर्ति तथा राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
कोटधारामा महेन्द्र राजमार्गमा निर्माणाधीन पक्की पुलको उचाईका कारण ११ केभी प्रसारण लाइनको तार नजिक सोही स्थानमा बसोबास गर्ने टीकाराम जैसीकी ८ वर्षीया छोरी रश्मी नुहाएर घर फर्कने क्रममा उक्त विद्युत्को तार छुन पुगी सख्त घाइते भएकी थिइन् । दुर्घटनामा परेर पूर्ण अंगभंग भएकी उनको विभिन्न अस्पतालमा उपचार गरिएको थियो । उपचार गराउँदा ८१ हजार ३७२ रुपैयाँ खर्च भएको थियो ।
प्राधिरकरणले उपचार गराउँदा तीन लाख रुपैयाँ पेश्की उपलब्ध गराएको थियो ।
नेपाल विद्युत् प्राधिकरणको विनियमावलीअनुसार बाँकी १० लाख ८१ हजार ३७२ भुक्तानी दिने निर्णय सञ्चालक समितिले गरेको हो ।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीकाअनुसार यसअघि उपचारका लागि लिइएको ३ लाख पेश्की कट्टा गरी रश्मी जैसीलाई क्षतिपूर्ति र राहत वापत बाँकी १० लाख ८१ हजार ३७२ भुक्तानी गरिनेछ ।
घाइते कर्मचारीलाई साढे १९ लाख क्षतिपूर्ति
नेपाल विद्युत् प्राधिकरणले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी सन्देश मगर (शेरबहादुर मगर) लाई विद्युत् क्षतिपूर्ति विनियमावली, २०७७ बमोजिम क्षतिपूर्ति तथा उपचार खर्च गरी कुल रु. १९ लाख ७८ हजार ३०१ उपलब्ध गराएको छ।
मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रअन्तर्गत मेलम्ची नगरपालिका–१०, आम्बोटेमा २०८२ चैत ११ गते १५ केभी प्रसारण लाइनको डिस्क पिन परिवर्तन गर्ने क्रममा करेन्ट लागेर घाइते हुनुभएका मगरको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गरिएको थियो। उपचारका क्रममा रु. ९ लाख ७८ हजार ३०१ खर्च भएको थियो।
विनियमावलीअनुसार रु. १० लाख क्षतिपूर्ति तथा उपचारमा लागेको रु. ९ लाख ७८ हजार ३०१ गरी कुल रु. १९ लाख ७८ हजार ३०१ उपलब्ध गराइएको हो।
