Children's Day
काठमाडाै, भाद्र २८ ।
दक्षिण चीनको गुवाङ्सी झुआङ स्वायत्त क्षेत्र र दक्षिण-पश्चिम चीनको गुइझोउ प्रान्तको सीमामा अवस्थित दुर्गम पहाडको खोचमा रहेको वुयिङ गाउँ विद्यालयबाट निकै टाढा छ। बालबालिकाहरूले पढ्नका लागि लामो दूरी तय गर्नुपर्ने समस्यालाई समाधान गर्न वुयिङ शिक्षण केन्द्रलाई अहिलेसम्म निरन्तर सञ्चालनमा राखिएको छ। यस शैक्षिक सत्रमा यहाँ गुइझोउका ५६ वर्षीय पान सियानफेङ र गुवाङ्सीका २९ वर्षीय पेङ हानपिङ गरी दुई जना शिक्षक तथा १० जना मात्र विद्यार्थीहरू रहेका छन्, जसले गर्दा यो विद्यालय एक “माइक्रो-प्राइमरी स्कूल” बनेकाे छ।
दुर्गम स्थान र कठिन अवस्थाका कारण निकै कम शिक्षकहरू मात्र यहाँ लामो समयसम्म पढाउन तयार हुन्छन्। शिक्षक पानले मार्च २०२० मा गुइझोउको एक राम्रो सुविधा सम्पन्न ग्रामीण विद्यालयबाट यहाँ सरुवा हुन आवेदन दिएका थिए भने शिक्षक पेङ सेप्टेम्बर २०२३ मा गुवाङ्सीको एक प्राथमिक विद्यालयबाट यहाँ आएका हुन्। फरक प्रान्त र फरक पुस्ताका यी दुई शिक्षकहरूले विद्यालय सञ्चालनका लागि आपसमा सुदृढ समन्वयका साथ काम गरिरहेका छन्।
कक्षाकोठाभन्दा बाहिर पनि उनीहरूले गाउँको रात्रिकालीन विद्यालयमा स्वयम् सेवक रूपमा स्थानीय बासिन्दाहरूलाई साक्षरता र मन्डारिन भाषा सिकाउँदै आएका छन् । जसले गर्दा स्थानीयको दृष्टिकोण फराकिलो हुनुका साथै उनीहरूको जीविकोपार्जनमा सुधार ल्याउन मद्दत पुगेको छ।
“यदि एक जना मात्र विद्यार्थी भए पनि यो शिक्षण केन्द्र निरन्तर चलिरहनुपर्छ,” पान भन्छन्। पेङले थपे, “काम जतिसुकै कठिन भए पनि बालबालिकाहरूले नजिकै पढ्न पाएका छन् भने हाम्रा सबै प्रयासहरू सार्थक छन्।”
सिन्ह्वा
