भगवान विश्वकर्मा
काठमाडौं, असोज १ ।
मानव जातिले ढुङ्गे युग र शिकारी युगमा पनि आफ्नो बुद्धिले भ्याएको हातहतियारहरु बनाएर प्रयोग गरे । त्यसैले मानव जाति हातहतियार निर्माण गर्ने जनावर हो ।
फलस्वरुपः अन्य जीवजन्तुभन्दा मानव फरक हुन गएको हो । शिकारी युग र कृषियुग सँगसँगै मानवले ढुङ्गा र काठका साथै धातुका औजारहरुको खोज, आविष्कार र प्रयोग गरेपछि नै वास्तुशास्त्रको विकास भएको हो ।
यसरी वास्तुसम्बन्धी खोजकर्ताको रुपमा विश्वकर्मालाई सबैले मान्ने र पूज्ने प्रचलन सुरुवात भयो । यसरी विश्वकर्मा पूजा नयाँ खोज, व्यापक र गहन अध्ययन, अनुसन्धान, प्रयोग, आविष्कार र निर्माणको वैज्ञानिकलाई दिइएको प्राचीन सम्मान हो ।
विश्वकर्मा मानव जातिको पहिलो भौतिक विज्ञानका प्रवर्तक र वैज्ञानिक हुन् । शिल्पकला र प्राविधिक विषयका जन्मदाता हुन् ।
त्यसैले विश्वकर्मा पूजा केवल धार्मिक अनुष्ठान मात्र नभएर श्रम, सीप र प्रविधिको कदार गर्ने दिनको रुपमा मनाइन्छ ।
कृषि र उद्योग सम्बन्धी आवश्यक औजारहरु निर्माण गरी उत्पादनमा बृद्धि र राष्ट्रिय समृद्धि एवम् विकासको सङ्कल्प गर्ने दिनको रुपमा विश्वकर्माको पूजा गरिन्छ ।
हिन्दू धर्मशास्त्रमा भगवान विश्वकर्मालाई ब्रह्माण्डकै पहिलो इन्जिनियर र वास्तुकार मानिन्छ । हरेक वर्ष सूर्य कन्या राशिमा प्रवेश गरेको दिन कलकारखाना, मेसिन, औजार र सवारी साधनहरुको पूजा गरी विश्वकर्मा पूजा वा जयन्ती मनाइन्छ ।
विश्वकर्मालाई विश्वकृत, त्वष्टा, भूर्भूव, भुवनेश, स्वर्गदेव आदि नामले पनि सम्बोधन गरिन्छ । पूर्वीय वाङ्मयका अनुसार विश्वकर्मा बृहस्पतिकी बहिनी भुवना र अष्टवसुमध्ये एक प्रभासका छोरा हुन् । जसलाई कला, वास्तुकला र योजना निर्माणका देवताको रुपमा पूजा गरिन्छ ।
त्यसैगरी भगवान विश्वकर्माको उत्पत्तिको सम्बन्धमा वास्तुशास्त्रको प्रमुख ग्रन्थ विश्वकर्मा प्रकाश र स्कन्द पुराणको प्रभास खण्डमा वास्तुदेवको सुपुत्र भनिएको छ ।
नारायणब्जजनितस्य विधेः सुतस्य, धर्मात्मजस्य गृहवास्तुसुतं वरेण्यम् ।
स्वर्गादिलोकरचनाकुशलं तमद्य, श्रीविश्वकर्मविश्रतं सततं स्मराम ।।
अर्थात् भगवान नारायणको नाभीकमलबाट उत्पन्न हुनुभएका ब्रह्माजीका पुत्र, धर्मका आत्मज (छोरा वास्तुदेव) का वरेण्य (श्रेष्ठ) पुत्र, स्वर्ग आदि दिव्य लोकहरुको रचना गर्नमा अत्यन्त कुशल र संसारभर प्रसिद्ध हुनुभएका ती भगवान श्री विश्वकर्माको म आज निरन्तर ध्यान र स्मरण गर्दछु ।
पूर्वीय चिन्तकहरुको आफ्नो अध्ययन, अनुसन्धान र अनुभवको आधारमा देवीेदेवता र आम मानवको बासस्थान सम्बन्धी कला र वास्तुकला निर्माण विधानहरुको प्रतिपादन गरे ।
देवताहरुको निर्देशन अनुसार विभित्र वास्तु रचनाहरु गरेको तथ्यहरु पौराणिक ग्रन्थहरुमा उल्लेख छ । उनले भगवान श्रीकृष्णको निर्देशमा द्वारका, महासागरभित्र बरुणको दरबार, सुनको लङ्का, आत्रेय ऋषिको लागि स्वर्ग नगरीको निर्माण, चर्चित पुष्पक विमान र अन्य विमानहरु, इन्द्रको अमरावति, इन्द्रको उपवन, हस्तिनापुर, यमको दरबार, इन्द्रको वैजयन्त सभा, जस्ता संरचनाको इन्जिनियरिङ गरेका थिए ।
विश्वकर्माले यज्ञद्वारा विश्व ब्रह्माण्डको सृष्टि गरेका थिए ।
य इमा विश्वा भुवनानि जुह्वदृषिर्होता न्यसीदत् पिता नः ।
स आशिषा द्रविणमिच्छमानः प्रथमच्छदवराँ आविवेश ।। ऋग्वेदको मण्डल १०, सूक्त ८१, मन्त्र १ मा यस संसारका सबै भुवनहरु (तत्वहरु) लाई आफैँमा समाहित गरेर यज्ञ गरी सृष्टिको सुरुवातमा नै सम्पूर्ण प्राणी र भौतिक जगतको रचना गरेर त्यसभित्र आत्म रुपमा प्रवेश गराएको वर्णन छ । उनलाई सर्वद्रष्टा र सर्वव्यापी भगवानको रुपमा उल्लेख गरिएको छ ।
अप्सराहरुमध्ये सबैभन्दा सुन्दर अप्सरा तिलोत्तमाको सृष्टि गर्नुका साथै भगवान शिवले बोक्ने त्रिशूल, भगवान विष्णुको सुदर्शन चक्र, कार्तिकेयले बोक्ने सुरो पनि निर्माण गरेको पुराणहरुमा उल्लेख छ ।
निर्गुण र निराकार मेरु पर्वतभन्दा अग्ला विश्वकर्मा बाबाले सृष्टिकाल र त्यसपछि विभिन्न दरबार, घर, शहर, बगैंचा, गरगहना, आन्तरिक सजावट, देवीदेवताका रथहरु, साजसज्जा, गरगहना, देवीदेवताका आयुधहरुको निर्माण गरी सुन, तामा, फलाम, ढुङ्गा, माटो र काठमा काम गर्ने मानव उपयोगी शिल्पकलाको विधि र प्रविधिको प्रवद्र्धन गरे ।
यस्ता शिल्पकलाका देवाधिदेव विश्वकर्माको पूजा आराधना नेपाल र भारतको सबै स्थानमा असोज १ गते धुमधामका साथ गरिन्छ ।
विश्वकर्माहरु प्रतिमाशास्त्र अनुसार त्रिनेत्र, चार बाहु, हातमा नापजाँच गर्ने फित्ता, कमण्डलु, ज्ञानसूत्र पुस्तक जस्ता आयुध लिएको, हात्ती वा राजहाँसमाथि उच्च स्थानमा आसिन, बहुमूल्य रत्नादि माला, चुरा, बाजुबन्द, कानमा कुण्डल र पहेँलो बस्त्र लगाएको एकल र उनका शक्तिस्वरुपा गायत्रीदेवीसँग पनि देखाउने गरिन्छ ।
चित्रकलाहरुमा बादललाई वाहनमाथि पनि प्रजापति र हिरण्यगर्भको रुपमा देखाउँने गरिन्छ । यसका अलाव पाँचवटा हात्तीमाथि बसेका बाबा विश्वकर्माले एकहातले हत्केलामा पृथ्वीलाई समातेर हथौडा र छिनोले बनाउँदै गरेको दृश्य पनि देखाउने प्रचलन छ ।
नेपालमा विश्वकर्माको छुट्टै मन्दिर भने छैन, तर गोकर्णेश्वर महादेवको मन्दिरको प्राङ्गण र पशुपतिनाथ मन्दिरको टुंडालमा विश्वकर्माका सुन्दर मूर्तिहरु रहेका छन् । मन्दिर नै नभएपनि आजको दिन सबैले आ–आफ्नो कार्यस्थल, ग्यारेज, कलकारखाना, घर, प्राङ्गण, बाटो आदिमा विश्वकर्माको प्रतिमा राखेर धुमधामसँग पूजा गर्छन् ।
एकीकृत नेपाल
