ईश्वर थापा
धनकुटा, असोज २ । पूर्वी पहाडको शान्त वातावरण, हरियालीले ढाकिएका डाँडाकाँडा र मौलिक संस्कृतिको मिठासको सङ्गम रहेको ठाउँ हो धनकुटाको स्याउले । धनकुटा नगरपालिका–३ मा पर्ने स्याउले पुगेपछि पर्यटन भनेको घुमफिरमात्रै नभएर जीवनशैली, परम्परा र पहिचानसँगको गहिरो सम्बन्ध रहेको महसुस हुन्छ ।
यहाँको संस्कृति, प्रकृति र पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले आठपहरिया समुदायले सञ्चालन गरेको ‘स्याउले सिप्तिङ सामुदायिक घरबास (होमस्टे)’ यहाँको मौलिक पहिचान बन्दै आएको छ । आन्तरिक तथा बाह्य पर्यटकको बढ्दो आकर्षणसँगै होमस्टे केवल बसोबासको स्थानमा सीमित नरही समुदायको आत्मगौरव, अतिथिसत्कार र प्राकृतिक सौन्दर्यको जीवन्त अनुभव दिने केन्द्रका रूपमा विकास हुँदै गएको हो ।
सीमान्तकृत आठपहरिया समुदायको धनकुटा नगरपालिका क्षेत्रमा मात्रै मुख्य बसोबास छ । धनकुटा नगरपालिकाको भूमिपुत्र भन्न रुचाउने आठपहरिया समुदायको चाडपर्व मान्न तथा पितृकार्य गर्न धनकुटा नगर क्षेत्रका विभिन्न स्थानमा भेला भएर सामूहिक रूपमा मनाउने चलन छ । कुनै बेला आठपहरिया समुदायमा अरुण र तमोर नदी कटेर जान हुँदैन भन्ने मान्यता थियो । अहिले भने विस्तारै रोजगारी, शिक्षालगायत सिलसिलामा बाहिर जाने पनि बढ्दैछन् ।
कुनै समय ओझेलमा परेको यो समुदाय अहिले आफ्नै संस्कृति र परम्परालाई आधार बनाएर पर्यटनको माध्यमबाट पुनर्जागृत हुँदैछन् । “पाहुनालाई स्वागत गर्ने शैलीदेखि खानपान, रहनसहन र मनोरञ्जनसम्म सबैमा मौलिकताको झल्को पाइन्छ । आगन्तुकलाई रातो टीका र फूलको मालाले स्वागत गरिन्छ, जसले नेपाली आतिथ्य संस्कारको आत्मीयता झल्काउँछ”, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले भन्नुभयो ।
यहाँ सञ्चालित घरबासले लोपोन्मुख आठपहरिया समुदायको सांस्कृतिक धरोहरलाई पर्यटनसँग प्रभावकारी रूपमा जोडेको छ । यहाँ आउने पर्यटकलाई मौलिक तथा स्थानीय परिकारको स्वाद चखाउनेमात्र होइन, समुदायको जीवनशैली, परम्परा र संस्कृतिको प्रत्यक्ष अनुभव गराइन्छ ।
आठपहरिया समुदायद्वारा सञ्चालित घरबास बस्ने ठाउँमात्रै होइन, जीवित सङ्ग्रहालयजस्तै बन्दै गएको नगरप्रमुख तामाङले बताउनुभयो । “यहाँ हुने प्रत्येक गतिविधिमा संस्कृतिको झल्को आउँछ । यहाँ आउने पर्यटकले स्थानीय परिकार र अग्र्यानिक उत्पादनको स्वाद लिन पाउँछन् । परम्परागत भान्साको बास्नाले आगन्तुकलाई गाउँले जीवनसँग नजिक बनाउने गरेको छ”, उहाँले भन्नुभयो ।
रासस
