काठमाडौं, असोज ४। राजनीतिक विश्लेषक तथा त्रिमुल नेपालका अध्यक्ष भरत दाहाललाई मोरङको बेलबारीबाट प्रहरीले नियन्त्रणमा लिएको दाहाल निकट स्रोतले जनाएको छ।
स्रोतका अनुसार पूर्वी नेपालमा राजनीतिक छलफल तथा भेटघाटका लागि असोज २ गते त्यसतर्फ जानुभएका दाहाललाई आइतबार बिहान सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
दाहाल असोज ३ गते विभिन्न व्यक्तिसँगको छलफल सकेर असोज ४ गते काठमाडौं फर्किने कार्यक्रम रहेको बताइएको छ। उहाँलाई नियन्त्रणमा लिएपछि विराटनगरतर्फ लगिएको र काठमाडौं ल्याउने तयारी भइरहेको स्रोतको दाबी छ।
तर, दाहाललाई कुन अभियोग वा कानुनी आधारमा नियन्त्रणमा लिइएको हो भन्नेबारे प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरेको छैन। त्यसैले पक्राउको कारणबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ।
यसैबीच त्रिमूल नेपाल पार्टीले आज एक विज्ञप्ति प्रकाशित गरी आफ्नो अध्यक्षलाई मोरङको बेलबारीबाट पक्राउ गरिएको पुष्टि गरेको छ । उक्त पार्टीले दाहालको पक्राउलाई सरकारको फासीवादी कार्य भनी आलोचना समेत गरेको छ ।

दाहाल पछिल्लो समय नेपालको राजनीतिक तथा शासन प्रणालीबारे आलोचनात्मक टिप्पणी गर्दै आउनुभएको छ। उहाँले सामाजिक सञ्जाल तथा सार्वजनिक अभिव्यक्तिमार्फत सरकार, राज्यसंयन्त्र र राजनीतिक व्यवस्थाका विभिन्न पक्षमाथि प्रश्न उठाउँदै आउनुभएको छ। हालै पनि उहाँका नामबाट सार्वजनिक भएका अभिव्यक्तिहरूमा राज्यका निकाय र राजनीतिक घटनाक्रमबारे कडा टिप्पणीहरू देखिएका छन्।
दाहाल निकट व्यक्तिहरूले उहाँको पक्राउलाई राजनीतिक अभिव्यक्ति र गतिविधिसँग जोडेर प्रश्न उठाएका छन्। उनीहरूले सरकारले आलोचनात्मक राजनीतिक आवाजमाथि नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन्।
दाहालको विश्लेषण जनहित विपरीत छैनन्ः पूर्व न्यायाधीश सिद्धिकी
उच्च अदालतका पूर्व न्यायाधीश एवं मानवीय कानून सहयोग कार्यक्रमका संयोजक डा. सलाहुद्दीन अख्तर सिद्धिकीले भरत दाहाल एउटा राजनीतिक विश्लेषक जसले सँधै मुलुकको हितमा कुरा गर्ने र तथ्यलाई उजागर गर्दै आउनुभएको हुनाले उहाँको विश्लेषण जनहित विपरीत नरहेको टिप्पणी गर्नुभएको छ ।
वहाँको संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रताको मौलिक हक अधिकारमा आघात पार्ने कार्य सरकारबाट गर्न नहुने पूर्व न्यायाधीश सिद्धिकीको भनाइ छ ।
