काठमाडौं, असोज ६ । राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरतमणि दाहालको गिरफ्तारीविरुद्ध परेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
दाहालकी छोरी डेनीका दाहालले उहाँको तर्फबाट दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा मंगलबार सर्वोच्च अदालतमा एकपक्षीय सुनुवाइ भएको थियो । सुनुवाइपछि अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतको वेबसाइटमा उपलब्ध विवरणअनुसार रिट नं. ०८३–डब्लूएच–००८० मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेतलाई विपक्षी बनाइएको छ । मुद्दाको दर्ता नम्बर ३७९०३७ रहेको छ ।
अदालतको अनलाइन अभिलेखमा आजको सुनुवाइको परिणाम ‘कारण देखाउ आदेश’ उल्लेख भए पनि आदेशको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन । त्यसैले अदालतले कुन आधार र कानुनी प्रश्नलाई ध्यानमा राखेर कारण देखाउ आदेश जारी गरेको हो भन्ने स्पष्ट हुन बाँकी छ ।
दाहाललाई मोरङको बेलबारीबाट प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं ल्याएको थियो । उहाँको गिरफ्तारीलाई लिएर परिवार तथा समर्थकहरूले कानुनी आधार र हिरासतको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी हुनु भनेको अदालतले सम्बन्धित निकायसँग पक्राउ तथा थुनामा राख्नुको कानुनी आधार र कारण माग गरेको अवस्था हो ।
अब विपक्षी निकायको जवाफ र अदालतको विस्तृत आदेशपछि दाहालको गिरफ्तारी तथा हिरासतसम्बन्धी कानुनी प्रश्नमा सर्वोच्चको दृष्टिकोण थप स्पष्ट हुनेछ ।
