२५ वर्षको सिर्जनात्मक यात्रा : ‘प्रिज्म अफ पर्सेप्सन’
काठमाडौ, असोज ७ ।
सहरी कोलाहल, व्यस्त सडक र आधुनिकताको तीव्र दौडबीच काठमाडौँको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरी र काठमाडौँ आर्ट ग्यालरीका शान्त कक्षहरूमा अर्कै एउटा दिव्य र चेतनामय संसार आकार लिइरहेको छ।
रङ, रेखा, माटो, काठ र क्यानभासका मसिना रेखाहरूमा कोरिएका कथाहरूले हेर्ने हरेक आँखाहरूलाई एकछिन टक्क अड्याउँछन् र मानव मनको गहिराइतर्फ डोर्याउँछन्।
यो दृश्य — सिर्जना कलेज अफ फाइन आर्ट्सको स्थापनाको २५औँ वर्ष ९रजत जयन्ती० को ऐतिहासिक अवसरमा आयोजना गरिएको बहुप्रतिक्षित कला प्रदर्शनी ‘सिर्जना–२०२६ : प्रिज्म ऑफ पर्सेप्सन’ को हो।
त्रिभुवन विश्वविद्यालयकी रेक्टर प्रा. डा. अन्जना सिंहद्वारा भव्य रूपमा उद्घाटन गरिएको यो प्रदर्शनी केवल कलाकृतिहरूको सङ्कलन मात्र होइन, यो त नेपाली कला शिक्षा, सिर्जनात्मक समर्पण र साढे दुई दशक लामो साधनाको एक स्वर्णिम दस्ताबेज हो।
२५ वर्षअघि नेपाली कला जगत्का स्थापित र वरिष्ठ स्रष्टाहरूको ऐक्यबद्ध प्रयासबाट रोपिएको सिर्जना कलेजको बिरुवा आज एउटा विशाल र फलदायी वृक्ष बनेको छ।
कला समुदायद्वारा स्थापित नेपालकै यो पहिलो निजी / सामुदायिक ललितकला सम्बन्धी कलेजले नेपाली कला शिक्षालाई अन्तर्राष्ट्रिय चेतसँग जोड्दै सांस्कृतिक धरोहरको संरक्षणमा ऐतिहासिक योगदान पुर्याउँदै आएको छ।
प्रदर्शनीको नाम ‘प्रिज्म अफ पर्सेप्सन’ आफैँमा एउटा सुन्दर दार्शनिक बिम्ब हो।
जसरी एउटा प्रिज्माबाट छिरेको सेतो प्रकाश विभिन्न चम्किला रङहरूमा विभाजित भएर इन्द्रेणी सिर्जना गर्दछ, त्यसरी नै यस प्रदर्शनीले पनि १७ जना प्राध्यापक कलाकारहरूका ५० वटा अनमोल कलाकृतिहरूमार्फत नेपाली कलाका विविध विधा, शैली, विचार र भावनाहरूलाई एउटै थलोमा सुन्दर ढङ्गले प्रस्तुत गरेको छ।
यहाँ परम्परागत पौभा शैलीदेखि आधुनिक अमूर्त विधा, पुनर्जागरणकालीन यथार्थवाददेखि समकालीन मिनिमलिजम र सेरामिक्ससम्मको अभूतपूर्व सन्तुलन देख्न पाइन्छ।

प्रदर्शनीमा सजिएका १७ स्रष्टा र तिनका कलाकृतिहरू
सुनिल रञ्जित: आँखा चिम्लिँदाको आन्तरिक संसार (Color Contemplations)
कलाकार सुनिल रञ्जितले आँखा चिम्लिँदा देखिने अन्धकार, प्रकाश र रङहरूको सूक्ष्म हलचललाई आफ्नो सिर्जनाको प्रेरणा मान्नुभएको छ।
क्यानभासलाई एउटा रङ्गमञ्च मान्दै उहाँले रातो, बैजनी, पहेंलो, सुन्तला र कालो रङका घुमाउरा, जैविक आकारहरू प्रयोग गर्नुभएको छ। रङहरू एकअर्कामा खप्टिएर पत्र(पत्र बनेका छन्, जसले मानव मनको आन्तरिक तनाव, ध्यान र सद्भावलाई उजागर गर्छ।
नवीन्द्रमान राजभण्डारी: वैदिक सत्यको अमूर्त स्वरूप (Satyam Shivam Sundarma)
नवीन्द्रमान राजभण्डारीको यो कृति प्राचीन वैदिक विषयवस्तुलाई अमूर्त रूपमा प्रस्तुत गर्ने उत्कृष्ट उदाहरण हो। शीर्षक Satyam Shivam Sundaram ले ब्रह्माण्डको परम सत्य, दैवी तत्व र सौन्दर्यलाई सङ्केत गर्छ।
चित्रको केन्द्रमा सुन्तला र रातो रङमा भगवान् शिवको प्रतीक त्रिशूलको अमूर्त संरचना छ, जसले सत्य, शक्ति र चेतनालाई जनाउँछ।
त्रिशूलको तल्लो भागबाट बगेको पहेंलो लयात्मक रेखाले ज्ञान वा गङ्गाको बहाव जस्तै जीवनको निरन्तरतालाई संकेत गर्छ। पृष्ठभूमिको कालो, नीलो र खैरो रङका चिसो खण्डहरूसँग केन्द्रको तातो रङको विरोधाभासले दर्शकलाई (अप्टिकल प्लेजर) वा दृष्टिगत आनन्द प्रदान गर्छ।
विजय महर्जन: समयको निरन्तरता र स्मृतिहरूका अवशेष (The Vestiges)
The Vestiges अर्थात् अवशेष वा भग्नावशेष। विजय महर्जनको यो अमूर्त चित्रकलाले काठमाडौँ उपत्यका र ग्रामीण परिवेशका पुराना, जीर्ण पर्खालहरू र भत्किन लागेका भवनहरूसँगको भावनात्मक साक्षात्कारलाई मिक्स्ड मिडियाको माध्यमबाट क्यानभासमा उतारेको छ।
चित्रको तल्लो भागमा गाढा रातो र माथिल्लो भागमा पूर्ण कालो रङको प्रयोग छ। यी दुई शक्तिशाली रङहरूको बीचमा खैरो, सेतो र हरियो मिश्रण भएको खस्रो सतह देखिन्छ।
रातो रङले जीवन र ऊर्जालाई जनाउँछ भने कालोले शून्यता र अन्धकारलाई। बीचको खस्रो सतहले समयको निरन्तर सँगै क्षयीकरण हुँदै गएको भौतिक संसारको प्रतिनिधित्व गर्छ। यो चित्रले इतिहास स्थिर हुँदैन, बरु बाँकी रहेका अवशेषहरूका रूपमा मानिसको स्मृति र व्याख्या अनुसार परिवर्तन भइरहन्छ भन्ने गहिरो दार्शनिक सन्देश दिन्छ।
मुकेश श्रेष्ठ: आन्तरिक शान्ति र युद्धको रूपान्तरण (The Mind is Everything: What You Think, You Become)
भगवान् बुद्धको प्रख्यात विचारमा आधारित मुकेश श्रेष्ठको यो त्रिफलक चित्रकलाले मानिसको आन्तरिक मानसिक अवस्थाले कसरी बाहिरी संसारलाई रूपान्तरण गर्छ भन्ने तथ्यलाई अन्वेषण गरेको छ।
चित्रमा बाल्यकाल, युवावस्था र बुढ्यौलीका तीन चरणलाई प्रतिनिधित्व गर्ने मानवरूपी आकृतिहरू एकअर्कालाई कसिलो गरी अङ्गालो मारिरहेका छन्, जसले मानवीय आत्मीयता र गहिरो हेरचाहलाई अभिव्यक्त गर्छ।
उनीहरूको शिरमा फुलेका कमल र गुलाफका फूलहरूले नारी र पुरुष ऊर्जाको मानसिक अवस्था दर्शाउँछन्। यस चित्रको सबैभन्दा शक्तिशाली पक्ष— आकृतिहरू युद्ध ट्याङ्कमाथि उभिएका छन्, तर ट्याङ्कबाट विनाशकारी मिसाइल होइन, शान्तिको प्रतीकका रूपमा गुलाफ र कमलका फूलहरू फुलिरहेका छन्।
यो कृति विश्वभर युद्धको चपेटामा परेका निर्दोषहरूप्रतिको समवेदना र विश्वव्यापी शान्तिको जोडदार आह्वान हो।
देवेन्द्र पाण्डे: चञ्चल मन र विचारका तैरिएका बादल (Floating On Cloud)
कलाकार देवेन्द्र पाण्डेको Floating on Cloud हेर्दा दर्शकहरू क्षणभरका लागि भौतिक संसारबाट अलग्गिएर एउटा अलौकिक र रहस्यमय वातावरणमा पुगेको अनुभूति गर्छन्।
यो चित्र मानिसको मानसपटल, विचार र मानवीय भावनाको ऐना हो। आकाशमा बादल जसरी क्षणभरमै आफ्नो रूप बदलेर बिलाउँछ, मानिसका विचारहरू पनि त्यसरी नै चञ्चल र अस्थायी हुन्छन् भन्ने मुख्य दर्शन यसमा छ।
चित्रमा नीलो र सेतो रङको एकलजस्तै देखिने मनमोहक संयोजन छ। नीलो रङले अनन्तता र शान्ति दर्शाउँछ भने सेतो बादलले शुद्धता र शून्यता।
बादलको बीचमा नृत्य गरिरहेकी एक दिव्य महिलाको शान्त र ध्यानमग्न मुद्राले पृथ्वी र स्वर्गबीचको मध्यभाग अर्थात् देवीदेवता र अमर प्रकृतिको बासस्थानलाई संकेत गर्छ। तेल रङको मिहीन प्रयोगले बादलको मखमली बनोटलाई असाध्यै जीवन्त बनाएको छ।
गौतम मानन्धर: प्रकृति र मानवको अविछिन्न यात्रा (The Journey of Life)
वरिष्ठ कलाकार गौतम मानन्धरका लागि प्रकृति सबैभन्दा ठूलो गुरु र प्रेरणाको स्रोत हो। उहाँको कृति The Journey of Life ले मानव जाति (विशेष गरी महिला) र प्रकृतिबीचको गहिरो, आत्मीय सहअस्तित्वलाई उजागर गर्दछ।
चित्रमा मानवरूपी आकृतिहरू रुख, पहाड र नदीका लहरहरूसँग यसरी समाहित भएका छन् कि त्यहाँ मानव र प्रकृतिको परस्पर निर्भरता प्रष्ट देखिन्छ।
कपडाका लहरा वा हावाको झोक्का जस्ता घुमाउरा र लयात्मक रेखाहरूले चित्रमा एक प्रकारको निरन्तर गति पैदा गर्छन्, जसले जीवन कहिल्यै स्थिर रहँदैन, यो त निरन्तर चलिरहने एक यात्रा हो भन्ने भाव दिन्छ।
मध्य भागको उज्यालो पहेंलो र सुन्तला रङले आशाको ऊर्जा दिन्छ भने पृष्ठभूमिमा प्रयोग गरिएको खैरो, नीलो र गाढा रातो रङले जीवनका उतारचढाव र गहिराइलाई दर्साउँछ।

कृष्णगोपाल श्रेष्ठ: लौकिक र दैवी संसारको संवाद (Sacred Archetype)
कलाकार कृष्णगोपाल श्रेष्ठले Sacred Archetype मा दुईवटा भिन्न तर अन्तरसम्बन्धित दृश्यहरूलाई एकै ठाउँमा कलात्मक रूपमा प्रस्तुत गर्नुभएको छ।
चित्रको माथिल्लो भागमा प्राचीन तान्त्रिक पाण्डुलिपि छ, जसमा विभिन्न देवीदेवताहरू आफ्ना वाहनसहित कोरिएका छन्। तल्लो भागमा काठमाडौँ उपत्यकाको परम्परागत नेवार बस्तीको ऐतिहासिक सहरी दृश्य छ।
आकाशमा तैरिएको पाण्डुलिपि (दैवी र स्वर्गीय) र भुइँमा रहेको बस्ती (सांसारिक) बीचको संवादले पौराणिक कथा, वास्तुकला र समुदायबीचको कहिल्यै नछुटिने गहिरो सम्बन्धलाई प्रष्ट पार्छ। हाम्रा पवित्र धार्मिक कथाहरू केवल ग्रन्थमा सीमित नभएर हाम्रा गल्ली, चोक र सामूहिक स्मृतिमा भिजेका छन् भन्ने सन्देश यसले दिन्छ।
भावना मानन्धर: आत्म-सम्झौता, संघर्ष र मुस्कानको सौंदर्य (As I Become Frida)
कलाकार भावना मानन्धरको कलाकृति As I Become Frida अगाडि पुग्दा दर्शकले एउटा चम्किलो आत्म(चित्रसँग साक्षात्कार गर्छन्।
यो चित्र कला माध्यम मात्र नभई दुई फरक देश र समयका महिलाहरूको आत्म(तादात्म्यताको सुन्दर संगम हो। भावनाले आफूलाई विश्वप्रसिद्ध मेक्सिकन चित्रकार फ्रिडा काहलोको रूपमा ढालेकी छन्।
फ्रिडाको जीवन संघर्ष र आफ्ना व्यक्तिगत भोगाइहरूबीचको समानता महसुस गर्दै सिर्जना गरिएको यस चित्रमा प्रकृति र जीवजन्तुलाई प्रमुख प्रतीकात्मक स्थान दिइएको छ।
सिरमा रङ्गीचङ्गी फूलको मुकुट, काँधमा परेवा, डाँठमा बसेको हरियो सुगा र आसपासका हरिया बिरुवाहरूले जीवनका कष्टहरूलाई भुल्न प्रकृतिसँगको सामीप्यता कति आवश्यक छ भन्ने भाव व्यक्त गर्छन्।
मेक्सिकन लोक पहिरन ुतेहुअनाु शैलीबाट प्रेरित रातो र पहेंलो परम्परागत वस्त्रले जीवन्त ऊर्जा दिन्छ। पृष्ठभूमिको धमिलो आकाश र घुमाउरो चक्रले मानवीय भित्री चेतना र निरन्तरको मानसिक द्वन्द्वलाई संकेत गर्छ।
फ्रिडाका आत्म(चित्रहरू प्रायः पीडाले भरिएका हुन्थे, तर भावनाको अनुहारमा एउटा सुन्दर र दृढ मुस्कान तैरिएको छ— जसले दुःखलाई आत्मसात् गर्दै सकारात्मकताका साथ आफ्नो छुट्टै पहिचान बनाउने अठोट पोख्छ।
राधेश्याम मुल्मी: ब्रह्माण्डमा तरङ्गित सङ्गीतको धुन (Vibrations of Music)
कलाकार राधेश्याम मुल्मीले सङ्गीतलाई ब्रह्माण्डकै एउटा जीवन्त शक्तिका रूपमा प्रस्तुत गर्नुभएको छ। चित्रमा विभिन्न सारङ्गी तथा तारयुक्त वाद्यवादनहरू, चराचुरुङ्गी, फूल, माछा र हाँस जस्ता जीवहरू एक आपसमा लयबद्ध रूपमा जोडिएका छन्।
उज्यालो र जीवन्त रङहरू तथा पृष्ठभूमिमा रहेका तरङ्गित रेखाहरूले सङ्गीतको धुन वा कम्पनलाई दृश्य रूप दिएका छन्। प्रकृति र सङ्गीतको यो अभूतपूर्व सद्भावले दर्शकको मनमा परम शान्ति र आनन्दको अनुभूति गराउँछ।
रविन्द्र ज्यापू: पूर्व र पश्चिमको कलात्मक फ्युजन (Maitriya Buddha)
वरिष्ठ मूर्तिकार रविन्द्र ज्यापूको यो मूर्ति परम्परागत पूर्वीय (नेपाली) धार्मिक दर्शन र पश्चिमा युरोपेली पुनर्जागरण कालीन कला सिद्धान्तको अद्भुत सम्मिश्रण हो।
जिप्सम प्लास्टरबाट बनाइएको उभिएको मुद्राको मैत्रेय बुद्धको यस मूर्तिमा मानव शरीरको एनाटोमी, मांसपेशीको गहिराइ र शारीरिक बनावटलाई निकै यथार्थपरक रूपमा ढालिएको छ।
हातको अभय मुद्रा र कपडाको मसिनो बहावले नेपालको प्राचीन मूर्तिकला परम्परालाई विश्वव्यापी आधुनिक कला चेतसँग जोडेको छ।
सम्झना राजभण्डारी: परम्परागत भाँडाकुँडामा लुकेको माया (Treasure of Love)
वरिष्ठ कलाकार सम्झना राजभण्डारीले उडकट्स प्रिन्ट (काठको ब्लक बनाएर गरिने छापा कला) को माध्यमबाट पुराना नेपाली परम्परागत भाँडाकुँडा (जस्तै करुवा र आम्खोराहरू) लाई मुख्य विषय बनाउनुभएको छ।
चित्रमा रातो र कालो रङका परम्परागत बुट्टायुक्त भाँडाहरू सजाइएका छन्। पृष्ठभूमिको माथिल्लो भागमा रहेको चम्किलो सुनौलो गोलाकार बुट्टाले यी पुराना सामग्रीहरू हाम्रो समाजका लागि बहुमूल्य सांस्कृतिक खजाना हुन् भन्ने भाव व्यक्त गर्छ।
शारदामान श्रेष्ठ: नेवार संस्कृति र जात्राको गतिशीलता (Newar Culture & Tradition)
काठमाडौँ उपत्यकाको उत्सवमय जीवनलाई शारदामान श्रेष्ठले कागजको प्रयोग गरी इन्भाइरोन्मेन्टल स्कल्प्चरको मोडलका रूपमा प्रस्तुत गर्नुभएको छ।
जात्राको सांस्कृतिक र्यालीमा अगाडि पूजाका सामग्री बोकेकी महिला, पछिपछि बाँसुरी, धिमे, झ्याली र पोङ्गा बजाउने बाजागाजा टोली र घुँन्या (लामो ध्वजा) हल्लाउँदै हिँडेको पुरुषको अमूर्त र लयात्मक आकृतिहरू मूर्तिमा कोरिएका छन्।
यसले नेवार समुदायको अमूर्त सांस्कृतिक सम्पदालाई त्रिआयमिक रूपमा जीवन्त राखेको छ।
शरद रञ्जित: रङहरूकै लहरमा नृत्य (Dancing Colors)
कलाकार शरद रञ्जितको ‘Dancing Colors’ पूर्ण रूपमा अमूर्त अभिव्यक्तिवादी शैलीमा आधारित छ। चित्रमा स्पष्ट मानव आकृति बनाउनुको साटो पात्रहरूलाई रङहरूकै लहरमा समाहित गराइएको छ।
क्यानभासको बीचमा देखिने गाढा र चम्किला रङहरूको थुप्रोले नृत्यको मुख्य ऊर्जा केन्द्रलाई जनाउँछ। रङहरूको तीव्र र सुस्त बहावमार्फत दर्शकले नृत्यको गति, उत्तेजना र शान्तिलाई एकैसाथ अनुभूत गर्न सक्छन्।
सुष्मा शाक्य: आधुनिकता र मौलिक जरा बीचको सम्बन्ध (Connection I, II & III)
वरिष्ठ कलाकार सुष्मा शाक्यको यो तीनवटा प्यानल भएको मिनिमलिस्टिक कृतिले तीव्र गतिमा भइरहेको आधुनिकता र हाम्रा ऐतिहासिक जराहरू बीचको सम्बन्धलाई अन्वेषण गर्छ।
सेतो पृष्ठभूमिमा Embossing प्रविधिमार्फत कागज उठाएर परम्परागत नेपाली ज्यामितीय बुट्टाहरू र रुख – पातका आकृतिहरू बनाइएका छन्। सेतो शान्त रङमा खैरो र गाढा रातो रङका साना टुक्राहरू थपेर आधुनिकता र परम्पराको सुन्दर कनेक्सन देखाइएको छ।
सूर्यमणि शाक्य: मारमाथि बुद्धको विजय र पौभा कला (Maravijaya)
परम्परागत पौभा तथा थाङ्का शैलीका पोख्त कलाकार सूर्यमणि शाक्यको ‘मारविजय’ बुद्ध दर्शनको केन्द्रीय कथामा आधारित छ। सिद्धार्थ गौतमले बोधि प्राप्त गर्नुअघि मनभित्र उत्पन्न हुने प्रलोभन, डर, मोह र अज्ञानता (चार मार) माथि हासिल गरेको विजयलाई चित्रमा देखाइएको छ।
चित्रको केन्द्रमा शान्त बुद्ध भूमिस्पर्श मुद्रामा हुनुहुन्छ भने वरिपरि क्रोधित राक्षसी आकृतिहरू छन्। वास्तविक सुनको जलप र परम्परागत रातो, नीलो रङको सघन प्रयोगले यस चित्रलाई अलौकिक, भव्य र नाट्यमय बनाएको छ।
पारस श्रेष्ठ: लोपोन्मुख खेल, पुस्तक र ऐनाको नोस्टाल्जिया (Country Lives are being forgotten…)
युवा मूर्तिकार पारस श्रेष्ठले विगतमा नेपाली गाउँघरका बालबालिकाहरूले ढुङ्गाका साना टुक्रा प्रयोग गरेर खेल्ने परम्परागत खेल (गट्टा) लाई आफ्नो मूर्तिकलाको विषय बनाएका छन्।
मूर्तिमा गट्टा खेलिरहेको ध्यानमग्न आकृति छ, जसले साझा सामुदायिक जीवन बुझाउँछ। आकृति ठूलो पुस्तकमाथि बसेको छ, जसले पुस्तान्तरण हुँदै आएको इतिहास र ज्ञानको प्रतिनिधित्व गर्छ।
पुस्तकको माथिल्लो सतहमा राखिएको ऐनाले समकालीन समाज र आत्म(निरीक्षणलाई बुझाउँछ। आधुनिकतातर्फ अघि बढ्दै गर्दा ऐनामा आफ्नो प्रतिबिम्ब हेर्दै विगत र पहिचानलाई बिर्सन हुँदैन भन्ने सन्देश हरियो, खस्रो टेक्स्चरयुक्त यस मूर्तिले दिन्छ।
सौगात श्रेष्ठ: लोककथा र सेरामिक्समा रहस्यमयी जीव (Goonch)
युवा कलाकार सौगात श्रेष्ठको ‘Goonch’ नामक सेरामिक्स मूर्ति नेपाल र भारतका नदीहरूमा पाइने जायन्ट डेभिल क्याट फिसु (गोँच माछा) को पौराणिक कथाबाट प्रेरित छ।
कोशी नदी घुम्न जाँदा स्थानीय माझीहरूबाट सुनेको मानिसभन्दा ठूलो माछाको लोककथालाई कलाकारले सेरामिक्स माध्यममा ढालेका छन्।
नीलो, पहेंलो र खैरो रङको काल्पनिक मिश्रणले यो जीवलाई अलौकिक र रहस्यमय बनाएको छ।
नदीहरूले केवल पानी मात्र होइन, समाजको सामूहिक स्मृति पनि बोकेका हुन्छन् भन्ने सन्देश यसले दिन्छ।
कलेजको २५ वर्षको यात्रा र उज्यालो भविष्य
सिद्धार्थ आर्ट ग्यालरी र काठमाडौँ आर्ट ग्यालरीमा सजाइएका यी ५० वटा कलाकृतिहरूले केवल एउटा प्रदर्शनीको रूप मात्र लिएका छैनन्, यिनले त नेपाली कलाको २५ वर्षको समर्पण, संघर्ष र उचाइको प्रतिनिधित्व गरेका छन्।
त्रिभुवन विश्वविद्यालयकी रेक्टर प्रा. डा. अन्जना सिंहले उद्घाटन समारोहमा भन्नुभए झैँ, सिर्जना कलेजले कला शिक्षाको क्षेत्रमा बालेको यो ज्योतिले नेपाली कलालाई अन्तर्राष्ट्रिय मञ्चमा अझै दृढताका साथ स्थापित गर्नेछ।
परम्पराको गहिरो आदर र आधुनिकताको खुला स्वागत नै ‘प्रिज्म अफ पर्सेप्सन’ को मूल मर्म हो। बबरमहलको यो कला-यात्राले हरेक दर्शकलाई आफ्नो विगत हेर्ने ऐना, वर्तमान बुझ्ने चेतना र भविष्य निर्माण गर्ने नयाँ दृष्टि प्रदान गर्दछ।
एकीकृत नेपाल
