काठमाडौं, असोज ८। संयुक्त राज्य अमेरिकाले नेपाललाई विभिन्न क्षेत्रमा गरी ३१ मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री शिशिर खनालसँग बुधबार भएको भेटमा अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरले यस्तो जानकारी दिनुभएको हो।
भेटमा उपविदेशमन्त्री हुकरले बाढीपछिको पुनर्निर्माणका लागि १० मिलियन डलर सहयोग गर्ने योजना रहेको बताउनुभयो।
त्यस्तै, बाढी प्रभावित समुदायका लागि खानेपानी तथा सरसफाइ, आवास र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न थप ८ मिलियन डलर उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो।
अमेरिकी सहयोग नेपालमा बाढीबाट प्रभावित समुदायको पुनर्स्थापना तथा आधारभूत सेवाको पुनःस्थापनामा केन्द्रित हुने जनाइएको छ।
