बनेपा (काभ्रे), असोज ८ । काभ्रेपलाञ्चोकमा सम्भावित भारी वर्षासँगै बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा चार दिन रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ ।
मनसुन प्रतिकार्य कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकको असोज ७ गते बसेको बैठकले असोज ८ गतेदेखि १२ गते बिहान ५ः०० बजेसम्म बेलुकी ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म बिपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार असोज ८ गते बिहीबारदेखि असोज ११ गते आइतबारसम्म ठूलो वर्षा हुनसक्ने मौसम पूर्वानुमान सार्वजनिक भइरहेका सन्दर्भमा सम्भावित बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको हो ।
बैठकले वर्षा तथा बाढीको अवस्था मूल्याङ्कन गरी दिनको समयमा सवारीसाधन सञ्चालन रोक्नुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आवश्यक निर्णय लिनसक्ने व्यवस्था गरेको छ । निर्णय कार्यान्वयनमा सहजीकरणका लागि सिन्धुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्ने निर्णय गरिएको अधिकारीले बताउनुभयो ।
मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
इलाम, असोज । उता मेची राजमार्ग र मेची करिडोर (केचना–कञ्चनजङ्गा सडक)मा आजदेखि रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले एक सूचना जारी गर्दै असोज ८ गते बेलुका ७ः०० बजेदेखि ११ गते बिहान ५ः०० बजेसम्म मेची राजमार्ग बन्द गरिने जनाएको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी बुलेटिन अनुसार असोज ९ देखि ११ सम्म नेपालभर भारी वर्षाको सम्भावना रहेको जनाएपछि सुरक्षालाई ध्यानमा राख्दै रातको समयमा राजमार्गमा सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो ।
“मेची राजमार्ग र मेची करिडोर अहिले पनि जोखिमपूर्ण र जीर्ण अवस्थामा सञ्चालन भइरहेका छन्”, प्रजिअ ढकालले भन्नुभयो, “जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार भारी वर्षा हुने सम्भावना रहेकाले सुरक्षालाई ध्यानमा राखी रातको समयमा दुवै राजमार्ग बन्द गरिएको हो ।”
रासस
