UN
भक्तपुर, असोज ८
यहाँको भक्तपुर नगरपालिका-९ सूर्यमढीस्थित डबलीमा सार्वजनिक रूपमा आज नौ बाजाको प्रदर्शनी तथा दीक्षान्त समारोह गरिएको छ । नौबाजा प्रशिक्षण र प्रदर्शन कार्यक्रममा ४९ जना प्रशिक्षार्थीलाई दीक्षित गरिएको संयोजक सत्यनारायण साँयजुले जानकारी दिनुभयो ।
भक्तपुर-९ च्याम्हसिँहस्थित भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले गत मङ्सिर ११ गतेदेखि सञ्चालन गरेको नौबाजा प्रशिक्षणमा १० महिला र ३९ पुरुष सहभागी भएका थिए । प्रशिक्षणमा ११ देखि ५५ वर्ष उमेर समूहका प्रशिक्षार्थी सहभागी भएका संयोजक साँयजुले बताउनुभयो ।
नौबाजाको प्रशिक्षक रविन कपालीले भक्तपुरमा पहिलोपटक नौबाजा दीक्षान्त समारोह गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले लोपोन्मुख अवस्थामा रहेको नौबाजा सिकाउँदै आफूले जानेको परम्परागत कला नयाँ पुस्तामा हस्तान्तरण गरिएको उल्लेख गर्नुभयो ।
प्रशिक्षणमा भक्तपुरकी पहिलो महिला धिमेवादक इन्दिरा लासिमस्युले र गोपाल लाछिमस्युले सहायक प्रशिक्षकका रूपमा सहयोग गर्नुभएको थियो । उहाँहरूको सहभागिताले नौबाजा प्रशिक्षणमा थप उत्साह मिलेको प्रशिक्षक कपालीले बताउनुभयो । नौबाजाअन्तर्गत पोङ्गा वाद्यको प्रशिक्षण राजकुमार मानन्धरले दिनुभएको संयोजक साँयजुले जानकारी दिनुभयो ।
समारोहका प्रमुख अतिथि तथा सल्लाहकार विष्णुगोपाल कुसीले मौलिक बाजा तथा परम्परागत कलाको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा जोड दिनुभयो । उहाँले नयाँ पुस्तालाई मौलिक बाजा सिकाएर संस्कृति संरक्षणमा योगदान पुर्याउनुपर्ने बताउनुभयो ।
नौबाजा प्रशिक्षार्थी सन्देश प्रजापतिले आफूले करिब २० वर्ष अघिदेखि नौबाजा सिक्ने इच्छा राखे पनि सिक्ने अवसर नपाएको बताउनुभयो । अहिले संस्थाले प्रशिक्षण सञ्चालन गरेपछि आफूले चाहेको बाजा सिक्न पाएकामा अत्यन्त हर्षित भएको उहाँले बताउनुभयो ।
नौबाजा नेवार समुदायको मौलिक तथा परम्परागत बाजागाजासँग सम्बन्धित कला हो । यसको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
रासस
