बसुन्धरा देवीको व्रत एवं पूजा आराधना गर्दै भक्तजन काठमाडौँ, १३ असोजः लुमधी भद्रकाली महिला समूह (निशा पुचः) को आयोजनामा टेबहालस्थित सङ्कटा मन्दिर परिसरमा बसुन्धरा देवीको व्रत एवं पूजा आराधना गर्दै भक्तजन । सुस्वास्थ्य एवं सुख, शान्तिको कामनाले यो व्रत गर्ने परम्परा रहेको छ । प्रत्येक वर्ष आश्विन कृष्ण तृतीयाका दिन यो व्रत एवं पूजा गर्ने विधि रहेको छ । तस्बिरः पूर्णप्रसाद मिश्र÷रासस
काठमाडौँ, १३ असोजः लुमधी भद्रकाली महिला समूह (निशा पुचः)को आयोजनामा टेबहालस्थित सङ्कटा मन्दिर परिसरमा बसुन्धरा व्रत पूजा गरिएको छ ।
सुस्वास्थ्य एवं सुख, शान्तिको कामनाले यो व्रत गर्ने परम्परा रहेको सबलबहालका सिद्धिमुनि बज्राचार्यले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष आश्विन कृष्ण तृतीयाका दिन यो व्रत एवं पूजा गर्ने विधि रहेको छ । यो व्रत, पूजा बसुन्धरा र स्वयम्भूमा पनि गरिन्छ ।
तीनै स्थानमा सामूहिक रूपमा यो व्रत एवं पूजा गर्ने परम्परा रहेको छ । यो व्रत एवं पूजामा बसुन्धरा देवीको विशेष आराधना गरिन्छ ।
टेबहालस्थित सङ्कटा मन्दिर परिसरमा भने आज ११३ जना व्रतालुले पूजा, आराधना गरेको लुमधी भद्रकाली मन्दिरका पुजारी गणेशबहादुर महर्जनले जानकारी दिनुभयो ।
देश र पारिवारिक सुख, शान्तिको कामनाले पनि यो व्रत एवं पूजा गरिने प्रचलन रही आएको छ । यो व्रत एवं पूजासँग एउटा किम्बदन्ती पनि जोडिएको छ ।
प्राचीनकालमा सुदर्शन नामका राजा थिए । राजाका दुई श्रीमती थिए । कान्छी श्रीमतीको खराब भावना थियो । राजा कान्छी श्रीमतीको पक्षमा लागेर भोग बिलासमा केन्द्रित हुँदा देशमा अनावृष्टि भयो ।
जनतामा हाहाकार भयो । खान नपाउने अवस्था बन्यो । जेठी रानीले बसुन्धरा देवीको व्रत बसी पूजा, आराधना गरेपछि वृष्टि भयो ।
त्यसपछिदेखि नै प्रत्येक वर्ष आश्विन कृष्ण तृतीयाका दिन बसुन्धरा देवीको व्रत बसी पूजा, आराधना गरेर यो कथा सुन्ने परम्परा सुरु भएको हो ।
आश्विन कृष्ण तृतीयाका दिन बसुन्धरा देवीको व्रत बसी पूजा, आराधना गरेपछि चतुर्थीका दिन बिहान सुन्धारामा गएर स्नान गरेपछि व्रत विधि पूरा हुन्छ ।
सुन्धारामा पानी नआउने भएकाले बाल्टीमा पानी लगेर स्नान गर्नुपर्ने बाध्यता रहेको भद्रकाली मन्दिरका पुजारी महर्जनले दुःखेसो गर्नुभयो ।
