काठमाडौँ, २१ कात्तिक: दक्षिण एसियाका अमूल्य सांस्कृतिक तथा धार्मिक सम्पदा कसरी आफ्नो मौलिक परिवेशबाट विस्थापित हुँदै पश्चिमी सङ्ग्रहालय र निजी सङ्ग्रहमा पुगे ? ती सम्पदासँग जोडिएका सांस्कृतिक, आध्यात्मिक र ऐतिहासिक अर्थ कसरी हराउँदै गए ? र तिनलाई फिर्ता ल्याउने अधिकार कसको हो ? यिनै गम्भीर प्रश्नलाई कलामार्फत उठान गरेको अन्तरराष्ट्रिय कला प्रदर्शनी काठमाडौँमा सम्पन्न भएको छ।
तारागाउँ नेक्स्टको आयोजना तथा सराफ फाउन्डेसनको सहयोगमा बौद्धस्थित तारागाउँ कल्चरल सेन्टरमा आयोजित ‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्ट: म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको प्रदर्शनीले दक्षिण एसियाली सांस्कृतिक सम्पदाको विस्थापन, औपनिवेशिक इतिहास र पुनःस्थापनाको जटिल प्रश्नलाई कलात्मक अभिव्यक्तिमार्फत प्रस्तुत गरेको थियो।
डा. अर्शिया मन्सुर लोखण्डवालाद्वारा संयोजित प्रदर्शनीमा दक्षिण एसियाका देवप्रतिमा, पाण्डुलिपि, मूर्तिकला तथा धार्मिक एवं अनुष्ठानसँग जोडिएका वस्तुहरू आफ्नो मौलिक सांस्कृतिक परिवेशबाट अलग पारिएपछि तिनको अर्थ र पहिचानमा आएको परिवर्तनलाई विशेष रूपमा उजागर गरिएको थियो।
धार्मिक आस्था, सामुदायिक पहिचान र पुस्तौँदेखि चलिआएका परम्परासँग अभिन्न रूपमा जोडिएका सम्पदा पश्चिमी सङ्ग्रहालयमा पुगेपछि केवल हेर्न र सङ्ग्रह गर्न मिल्ने वस्तुमा सीमित हुने अवस्थाप्रति प्रदर्शनीले गम्भीर प्रश्न उठाएको थियो। कुनै सम्पदाको स्वामित्व कसले निर्धारण गर्ने, त्यसको सांस्कृतिक अर्थको व्याख्या कसले गर्ने र त्यसको भविष्यबारे निर्णय लिने अधिकार कससँग रहने भन्ने विषयलाई पनि प्रदर्शनीले बहसको केन्द्रमा राखेको थियो।

प्रदर्शनीमा नेपालका रित्तिएका मन्दिर र त्यहाँबाट हराएका धार्मिक मूर्तिदेखि भारतबाट बाहिरिएका कास्य मूर्ति, पाकिस्तानको गान्धार क्षेत्रका मूर्तिकला तथा बङ्गलादेशका टेराकोटा सम्पदासम्मका विषय समेटिएका थिए। यी कलाकृतिले दक्षिण एसियाका विभिन्न देशले भोग्दै आएको सांस्कृतिक सम्पदा विस्थापनको साझा इतिहास र पीडालाई एउटै मञ्चमा प्रस्तुत गरेका थिए।
प्रदर्शनीले सम्पदा हराएको इतिहास मात्र देखाएन, बरु यस्तो विस्थापनलाई सम्भव बनाउने औपनिवेशिक ज्ञान प्रणाली, अवैध कला तथा पुरातात्त्विक वस्तुको कारोबार, संस्थागत भूमिका र पश्चिमी सङ्ग्रहालयको अभ्यासमाथि समेत विमर्श गरेको थियो। विशेषगरी सम्पदासँग जोडिएको जीवित सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धभन्दा त्यसको भौतिक स्वामित्वलाई प्राथमिकता दिने प्रवृत्तिमाथि प्रश्न उठाइएको थियो।
प्रदर्शनीमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका चर्चित कलाकारहरू तेम्सुयाङ्गर लोङकुमेर, रीतु सत्तार, शौर्य कुमार, राक्स मिडिया कलेक्टिभ, मिथु सेन, दिव्या मेहरा, मरियम घानी, एलएन तल्लुर, रोशन मिश्र, विशाल मानन्धर र जगत वीरसिङ्घेका कलाकृति समावेश थिए।
सराफ फाउन्डेसनकी सहसंस्थापक नमिता सराफले सांस्कृतिक सम्पदाको हराइरहेको इतिहास र त्यसलाई पुनःफिर्ता ल्याउने विषय नेपालका लागि विशेष संवेदनशील र महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँका अनुसार यस्ता प्रदर्शनीले दक्षिण एसियाली समाजलाई आफ्नो इतिहास आफ्नै दृष्टिकोणबाट बुझ्ने तथा सांस्कृतिक सम्पदाको पुनःस्थापनाले भविष्यमा राख्ने अर्थबारे छलफल गर्ने अवसर प्रदान गर्छन्।
प्रदर्शनीकी संयोजक डा. लोखण्डवालाले विश्वभरका सङ्ग्रहालयहरूले आफ्ना सङ्ग्रहमा समेटिएका वस्तुसँग जोडिएको औपनिवेशिक इतिहासबारे पुनर्विचार गर्न थालेको उल्लेख गर्दै सांस्कृतिक सम्पदा फिर्ताको विषय अहिलेको महत्त्वपूर्ण सांस्कृतिक बहस बनेको बताउनुभयो।
प्रदर्शनीसँगै कलाकार संवाद, कार्यशाला तथा अन्तरक्रियात्मक कार्यक्रमसमेत आयोजना गरिएका थिए। यसले कलाकृतिको अवलोकनमा मात्र सीमित नभई सम्पदाको स्वामित्व, ऐतिहासिक न्याय र सांस्कृतिक पहिचानबारे सहभागीहरूबीच विचार आदानप्रदान गर्ने अवसर जुटाएको थियो।
सराफ फाउन्डेसनको सहयोगमा नेपालमा डा. लोखण्डवालाले संयोजन गर्नुभएको यो तेस्रो प्रदर्शनी हो। दक्षिण एसियाली सम्पदाको स्वामित्व, औपनिवेशिक इतिहास र सांस्कृतिक पुनःस्थापनामा चासो राख्ने विद्यार्थी, कलाकार, अनुसन्धानकर्ता तथा सम्पदाप्रेमीहरूको उल्लेखनीय सहभागिताका बीच प्रदर्शनी सम्पन्न भएको आयोजकले जनाएको छ।

