नुवाकोट, रसुवा र नुवाकोट जिल्लाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल उत्तरगयाधाम बेत्रावतीमा सञ्चालन भइरहेको पितृमोक्ष महायज्ञमा राजपरिवारका तर्फबाट युवराज पारस शाह सहभागी हुनुभएको छ।
गुरु गोरखनाथ पीठ सिद्धाञ्चल, मृगस्थली, काठमाडौंको आह्वानमा आयोजना भइरहेको उक्त महायज्ञ आगामी कात्तिक २० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
सोमबारदेखि सुरु भएको महायज्ञमा युवराज पारस शाहले उत्तरगयाधाम पुगेर पूजाआराधना गर्नुभएको हो।
उहाँको उपस्थितिले धार्मिक महत्त्व बोकेको यस महायज्ञप्रति थप आकर्षण र चासो बढाएको गुरु गोरखनाथ पीठले जनाएको छ।
गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण अकालमा ज्यान गुमाएका व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना गर्नुका साथै दिवङ्गत पितृहरूको मोक्ष प्राप्तिको उद्देश्यले महायज्ञ आयोजना गरिएको आयोजक समितिले जनाएको छ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको उत्तरगयाधाममा आयोजित यस महायज्ञमा विभिन्न धार्मिक अनुष्ठान, पूजाआराधना तथा वैदिक विधिअनुसारका कर्मकाण्ड सञ्चालन भइरहेका छन्।



