किरात मुन्दुमी मिथक
रामकुमार राई
काठमाडौं, कात्तिक ३० ।
उहिले—समयले आफ्नो गति नछुट्याएको, मृत्युको कालो छायाँले मानव बस्तीलाई छुन नसकेको एक स्वर्णिम युग थियो।
त्यतिबेला मानिसहरू यस धर्तीका सबैभन्दा निर्भीक र सुखी प्राणी थिए, न कुनै रोगको पीडा थियो, न त भोक, शोक वा भयको काँडा थियो।
तर, सृष्टिको चक्र सधैँ एकैनास कहाँ बस्छ र, समयको बहावसँगै धर्तीमा नयाँनयाँ जीव र प्राणीहरूको आगमन भयो। तिनैमध्येको एक पात्र थियो— छेपारो, जसलाई किराँती मुन्धुममा कोक्चिली भनिन्छ।
मानिसको सर्वसत्तावादी र घमण्डी बानीबाट ज्यादै रुष्ट बनेको कोक्चिली भित्रभित्रै प्रतिशोधको ज्वालामा जलिरहेको थियो। उसले मानिसलाई कमजोर बनाउने र परास्त गर्ने एक मात्र उपाय खोजिरहेको थियो।
संयोगवश, एक दिन कोक्चिली र किराँती मिथकका पात्र खाबुु बीच मृत्युको रहस्य र यसको गहिराइबारे प्रतिस्पर्धा चल्छ।
अम्मरत्वको वरदान पाएका खाबुलाई के थाहा, त्यो जिज्ञासा उनको जीवनको अन्तिम अध्याय बन्नेछ भनेर । कोक्चिलीले खाबुलाई मृत्युको विधि सिकाउँछ।
अनजानमा नै खाबुले सोच्यो— आखिर यो मरणको रूप कस्तो हुँदोरहेछ, एक पटक मरिहेरौँ न त भनेर साेँचे र त्यही कौतूहल उनको जीवनको सदाका लागि पूर्णविराम बन्यो। खाबु सदाका लागि अस्ताए, र त्यहीबिन्दुबाट मानव जातिमा मरणशीलताको कालो धर्सा कोरियो भन्ने किरात मिथक छ ।
घरमा रुवाबासी मच्चियो। खाबुका छोरा पातोक्छीका लागि उनका पिता कुनै साधारण मानिस थिएनन्, उनी त आफ्ना जीवन्त भगवान थिए।
पातोक्छी र उनकी जीवनसंगिनी योरीक्ता र छोरा छुनीको संसार अचानक सुनसान भयो। दिनरातको आँसु, बिलौना र हृदयविदारक पीडा देख्न नसकेर योरीक्ताले खाबुको चिहान (कपुरखान)मा प्रत्येक दिन स्नेहपूर्वक खाना पुर्याउन थालिन्।
बिहान उठेर हेर्दा चिहानको खाना रित्तिएको देखेपछि पातोक्छी र छुनीको विरही मनमा एक प्रकारको असीम शान्ति मिल्थ्यो। किराँत राई समुदायमा चलेको १५ दिनसम्म चिहान पाल्ने र पितृलाई श्रद्धा अर्पण गर्ने यो मार्मिक परम्परा त्यहीँबाट प्रस्फुटित भयो भन्ने मुन्दुमी कथा छ ।
समयले घाउ त भरिदियो, तर बुबाको स्मृति भने मुटुमा सधैँ ताजा नै रह्यो। त्यसपछि पातोक्छी र छुनीले छिमेकी होलेन्दुसँग सल्लाह गरे।
होलेन्दुले दिए— मृतकको स्मृतिलाई केवल रुवाबासीमा सीमित नराख, बरु उनको नाममा एउटा चौतारो निर्माण गर। जहाँ थाकेका बटुवा, गोठाला र परदेशीहरूले आफ्नो भार बिसाउँछन र त्यसको पुण्य मृतकको आत्माले प्राप्त गर्नेछ ।
त्यस दिनदेखि खाबुको स्मृतिमा ठूला- ठूला ढुङ्गाहरू जोडेर एउटा चौतारो उभ्याइयो।
व्यक्तिगत शोकलाई सामाजिक उपकार र परोपकारमा रूपान्तरण गर्ने त्यो चौतारो नै किरात राई समुदायमा चिनो चौतारो लगाउने पवित्र परम्पराको जग बन्यो।
आज पनि ती चौताराहरूमा लेखिएका शिलालेखहरूले विगतको इतिहास र पुर्खाप्रतिको अनन्त प्रेमको कथा बाचन गरिरहेका छन्।
आधुनिकताको भिडमा लोप हुँदै गएका चौताराहरू
हाम्रा गाउँघर, गोरेटो बाटा र चौबाटोहरूमा उभिएका ढुङ्गामाटोका चौताराहरू केवल सुस्ताउने ठाउँ मात्र होइनन् । तिनीहरू हाम्रो सभ्यता, संस्कृति, र सामूहिकताका जीवित अभिलेख हुन्।
चौताराको उत्पत्ति नै व्यक्तिगत शोकलाई सामाजिक राहत र परोपकारमा परिणत गर्ने एक मानवीय संवेदनाबाट भएको पाइन्छ। तर विडम्बना, आज आधुनिक विकास र ढङ्ग नपुर्याइएको भौतिक निर्माणको आँधीबेहरीमा ती मौन चौताराहरू एकपछि अर्को गर्दै इतिहासको गर्भमा बिलिन हुँदै गएका छन्।
सडक सञ्जालको अव्यवस्थित विस्तार, सामूहिक भावनाको ह्रास, संरक्षणको अभाव आदि कारणहरुले हाम्रो सांस्कृतिक, ऐतिहासिक, धार्मिक, पर्यवरणीय तथा वातावरणीय हिसाबले महत्वपूर्ण चौताराहरुको लोप हुँदै गएको छ । यस्ता सम्पदाहरुको संरक्षण, अभिलेखीकरण र पुस्तान्तरण हुन नसक्नु दुःखद विषय हो ।
हाम्रा पुर्खाले प्रियजनको स्मृतिमा, वा गाउँको कल्याणको निमित्त चौतारो बनाउने गर्थे। वर, पीपल र समीका बोटमुनि बनाइएका यी चौताराहरू गाउँका पञ्चभलाद्मी बस्ने, सुखदुःख साट्ने र गाउँका महत्त्वपूर्ण निर्णयहरू हुने साझा खुला संसद् समेत थिए।
चौतारासँगै हुर्कने वृक्षहरूले विशेषगरी वरपीपल वातावरणीय सन्तुलन कायम राख्न, माटोको कटान रोक्न र शीतल छाँया प्रदान गर्न अमूल्य योगदान दिन्थे।
लामो बाटा हिँड्ने बटुवा, भारी बोक्ने भरिया, गोठाला र खेतालाहरूका लागि यो शारीरिक थकान मेट्ने एक मात्र भरपर्दो थलो थियो।
चौताराहरू केवल ढुङ्गा र माटोका थुप्रा होइनन्, यी हाम्रा पुर्खाहरूको पसिना, त्याग र सामाजिक उत्तरदायित्वका प्रतीक हुन्।
यदि हामीले हाम्रा यी मौलिक चौताराहरूलाई बचाउन सक्यौं भने मात्रै हाम्रो इतिहास र संस्कृति जीवन्त रहन सक्छ। यसका लागि स्थानीय तहले सडक निर्माण गर्दा वैकल्पिक रूपमा ऐतिहासिक चौताराहरूको संरक्षण गर्ने नीति बनाउनुपर्छ भने युवापुस्ताले यसको सांस्कृतिक महत्त्व बुझ्न जरुरी छ।
एउटा बटुवाले चौतारोमा बसेर फेर्ने लामो श्वास जस्तै, हाम्रो संस्कृतिले पनि फेरि एकपटक चौताराको शीतल छाँयामा जीवन्तताको सास फेर्न पाउनुपर्छ।
