रतन भण्डारी

माथिको तस्बीर हो बेलायतका लागि नेपालका राजदूत शङ्करशमशेर श्रीमती खिलराज्यलक्ष्मी र छोरा श्रीधरसँग लन्डनस्थित नेपाली दूतावासमा।
शङ्करशमशेर चन्द्रशमशेरकी कान्छी पत्नी बालकुमारीतर्फका माहिला छोरा हुन्। ललितपुरको हरिहरभवन यिनै शङ्करशमशेरको थियो।
परिवारभित्र ‘ज्ञानीहजूर’ भनेर बोलाइने शङ्करशमशेरलाई राणाकालको उत्तरार्द्धमा प्रधानमन्त्री दाजु मोहनशमशेरले बेलायतका लागि राजदूत नियुक्त गरेका थिए।
२००७ सालको क्रान्तिपछि शङ्करशमशेर नेपाल फर्कन मानेनन्। पछि उनलाई २००९ फागुन ९ गते राजदूतबाट बर्खास्त गर्नुपरेको थियो। त्यसपछि नेपाल सरकारले शङ्करशमशेरको हरिहरभवनसमेत राष्ट्रियकरण गरेको थियो।
शङ्करशमशेरको २०३४ असार १२ गते बेलायतमै निधन भएको थियो। उनकी पत्नी भने पछि नेपाल फर्किइन् र उनको यतै निधन भयो। शङ्करशमशेर र श्रीमती खिलराज्यलक्ष्मीका छोरा श्रीधरशमशेर भने अझै जीवित छन्।
लेखक इतिहास, नेपालको सीमाना र जलस्रोत विषयका विज्ञ हुनुहुन्छ ।
