घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिँदै काठमाडौँबाट राराताल आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी हिजो मुगुको छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित रारा जाने सडकको जिमाकाँरा भीरबाट ६०० मिटर तल खसेर दुर्घटना हुँदा घाइते हुनुभएका कञ्चन थापा र अञ्जु थापालाई थप उपचारका लागि आज नेपाली सेनाको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिँदै । उक्त गाडी दुर्घटना हुँदा गाडीमा सवार विजय बस्नेत, रमेश पिडारी र पूर्णकुमार थापाको मृत्यु भएको छ । तस्बिरः नृपेन्द्रबहादुर मल्ल रासस
मुगु ३० कात्तिकः काठमाडौँबाट रारा तालतर्फ आइरहेको बागमती बा १७ च १८६४ नम्बरको आइतबार भएको जिप दुर्घटनाका दुई जना घाइतेलाई थप उपचारका लागि आज सुर्खेत पठाइएको छ ।
उक्त दुर्घटनामा घाइते भएका चालक ललितपुरका कन्चन थापा र अन्जु थापालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो । उक्त जिप जिल्लाको छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित भिरबाट ६०० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी जिपमा सवार पाँच जनामध्ये काठमाडौँ कलङ्कीका विजय बस्नेत, रमेश पिडारी र पूर्णकुमार थापाको मृत्यु भएको थियो । मृतक तिनै जनाको शव जिल्ला अस्पतालमा शवपरीक्षण भएपछि आफन्तलाई हस्तान्तरण गरिने नायब उपरीक्षक थपलियाले जानकारी दिनुभयो ।
रासस
