धनतरेस

रामकुमार राई
काठमाडौं, कात्तिक २० ।
आज धनतरेस हो । यो धन र तेरस दुई शब्द मिलेर बनेको छ । धन शब्दले केवल पैसा, सुन, चाँदी वा भौतिक द्रव्यलाई मात्र बुझाउँदैन, बरु यसले स्वास्थ्य, अन्न, ज्ञान, सन्तान र सुसम्बन्धलाई पनि समेट्छ ।
हिन्दू धर्मशास्त्रहरु अनुसार आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरि स्वास्थ्य रुपी धनका प्रतीक हुन् भने माता लक्ष्मी भौतिक तथा आध्यात्मिक समृद्धिका प्रतीक हुन् । त्यसैगरी, तरेस भन्नाले हिन्दू पञ्चाङ्ग अनुसार कृष्ण पक्षको त्रयोदशी तिथिलाई जनाउँछ ।
पाँच दिनसम्म मनाइने तिहार तथा यमपञ्चक पर्वको सुरुवात भएको छ । आज पहिलो दिन अर्थात कात्तिक महिनाको कृष्ण पक्षको त्रयोदशी तिथिमा धनतरेस पर्व साथै धन्वन्तरि जयन्ती हर्षोल्लासका साथ मनाइन्छ ।
यो पर्व केवल धनसम्पत्ति र भौतिक सुखसुविधाको लागि मात्र नभई स्वास्थ्य, आरोग्य, आयुर्वेद, दीर्घजीवन र सकारात्मक ऊर्जाको रुपमा मनाउने गरिन्छ । नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरुमा छरिएर रहेका हिन्दू धर्मावलम्बीहरुले यस पर्वलाई अत्यन्त श्रद्धापूर्वक मनाउने गर्छन् ।
अग्नि पुराण र भागवत पुराणका अनुसार आजकै दिन समुद्र मन्थनको समयमा आयुर्वेदका देवता भगवान धन्वन्तरि अमृत कलश लिएर प्रकट हुनुभएको र चौध रत्नहरुको प्रकट भएको थियो । त्यसैले यसलाई धन्वन्तरि जयन्तीका रुपमा पनि मनाइन्छ ।
यस दिन विशेष गरी नयाँ भाँडाकुँडा, सुन, चाँदी वा अन्य मूल्यवान वस्तुहरु खरिद गर्ने प्रचलन छ, जसले घरमा समृद्धि ल्याउने जनविश्वास रहिआएको छ ।
पौराणिक मान्यता अनुसार देवता र दानव मिलेर क्षीर सागर वा समुद्र मन्थन गरिएको थियो । त्यसबाट चौध वटा महत्वपूर्ण रत्नहरु उत्पन्न भएका थिए ।
चरक संहिता र सुश्रुत संहिता अनुसार समुद्र मन्थनको अन्तिम दिन अर्थात कात्तिक कृष्ण त्रयोदशीका दिन हातमा अमृत कलश लिएर भगवान धन्वन्तरि प्रकट हुनुभएको थियो ।
उहाँलाई देवताका वैद्य तथा आयुर्वेद विज्ञानका जन्मदाता मानिन्छ । उहाँको प्रकटीकरण स्वास्थ्य र दीर्घजीवनको वरदान स्वरुप भएको विश्वास गरिन्छ । यसै दिन वा आजकै दिन धनकी देवी माता लक्ष्मी पनि क्षीर सागरबाट प्रकट हुनुभएको अग्नी पुराणमा उल्लेख गरिएको छ ।
त्यसैगरी आजकै दिन घरको मूल ढोकामा झिलमिलि बत्ति बालेर यम दिपदान पनि मनाउने परम्परा छ । यसको पछाडि पनि रमाइलो पौराणिक कथा जोडिएको छ ।
प्राचीनकालमा हेम नामका राजाका एक सुपुत्र थिए । ज्योतिषहरुको भविष्यवाणी अनुसार विवाहको चौथो दिन सर्पको डसाइबाट राजकुमारको मृत्यु हुने योग थियो ।
जब राजकुमारको विवाह भयो, उनकी चतुर र विदुषी पत्नीलाई यो कुरा थाहा भयो । विवाहको चौथो दिन अर्थात कालको मुखमा परको त्यो रात उनको पत्नीले राजकुमारलाई सुत्न दिइनन् । उनले आफ्नो कोठाको प्रवेशद्वारमा सुन, चाँदीका गरगहना र विभिन्न मूल्यवान वस्तुहरुको थुप्रो लगाइन् र चारैतिर अनगिन्ती दियोहरु बालेर उज्यालो बनाइन् ।
त्यस रात प्राण हरण गर्न आएका मृत्युको देवता यमराज सर्पको भेषमा त्यहाँ आए । तर, चारैतिर अनगिन्ती दियोहरुको प्रकाश र सुन चाँदीको चम्किलो चमकले यमराजको आँखा झिलिमिली भयो र उनी भित्र प्रवेश गर्न सकेनन् ।
यमराज त्यो सुनचाँदीको थुप्रोमाथि बसेर राजकुमारीले गाएको सुमधुर गीत र कथाहरु सुन्न थाले । यत्तिकैमा बिहान भयो र यमराज बिना कुनै प्राण दिएर फर्किए । यसरी एक नवविवाहित पत्नीको बुद्धिमत्ता र दियोको प्रकाशले राजकुमारको अकाल मृत्यु टरेको थियो ।
त्यसैको सम्झनामा आज धनतेरसको दिन यमदीप बाल्ने परम्परा रहिआएको छ ।
हिन्दू परम्परा अनुसार भगवान कुबेरलाई धनको भण्डारी र धनको रक्षा गर्ने देवता मानिन्छ । धनतेरसको दिन माता लक्ष्मीका साथै धनको रक्षक कुबेरको पनि विशेष पूजा आराधना गरिन्छ ।
यसको उद्देश्य कमाएको धन सम्पत्ति सुरक्षित रहोस् र त्यसको सदुपयोग समाज तथा परिवारको कल्याणका लागि होस् भन्ने कामना गर्नु हो ।
यो पर्वको धार्मिक, आध्यात्मिक र सामाजिक महत्वका साथै स्वास्थ्य र आरोग्यताको पनि महत्व रहेको छ । धनतेरसलाई आयुर्वेदका प्रवर्तक धन्वन्तरि जयन्तीका रुपमा मनाइने हुनाले यसले मानिसलाई शारीरिक स्वास्थ्य र दीर्घायूको प्रेरणा दिन्छ ।
नेपालमा यस दिनलाई राष्ट्रिय आयुर्वेद दिवसका रुपमा समेत मनाउँदै आएको छ ।
यस दिन बालिने दीपहरुले घरको नकारात्मक ऊर्जा, दरिद्रता र अन्धकारलाई हटाएर ज्ञान, उज्यालो र सकारात्मकता भित्राउने विश्वास गरिन्छ ।
आजको दिन विशेष गरी व्यापारी वर्ग र व्यवसायीहरुका लागि यो पर्व नयाँ हिसाब किताबको आरम्भ, व्यावसायिक उन्नति र लक्ष्मी कृपा प्राप्त गर्ने सुवर्ण अवसर मानिन्छ । बेलुकीपख मनाइने यम दीपदानको परम्पराले परिवारका सदस्यहरुको दीर्घायू र अकाल मृत्युको भयबाट रक्षाको कामना गराउँछ, जसले पारिवारिक एकता र मनोबल उच्च राख्न सघाउँछ ।
धनतेरसको दिन तामा, पित्तल, चाँदी वा सुनका नयाँ भाँडाकुँडा खरिद गर्नु अत्यन्त शुभ मानिन्छ । पौराणिक मान्यता छ कि भगवान धन्वन्तरि अमृत कलश लिएर प्रकट भएकाले भाँडाकुँडालाई त्यो कलशको प्रतीक मानेर खरिद गरिन्छ । बजारमा यस दिन भाँडा पसल र सुनचाँदीका पसलहरुमा खरिद गर्नेहरुको अत्यधिक भीड लाग्ने गर्दछ ।
त्यसैगरी लोकविश्वास अनुसार धनतेरसका दिन साबुत धनियाँ (सुख्खा धनियाँ) का दाना किनेर घरमा ल्याई पूजा गर्ने र दीपावली पछि करेसाबारी वा गमतामा रोप्ने चलन छ । यसलाई समृद्धिको सूचक मानिन्छ । यसैगरी, घरको सरसफाइ र दरिद्रता नाश गर्नका लागि नयाँ कुचो वा झाडु खरिद गर्ने परम्परा पनि उत्तिकै प्रचलित छ, किनकि कुचोलाई माता लक्ष्मीको रुप मानिन्छ ।
धनतेरसको साँझ प्रदोष कलामा घरको मुख्य द्वारबाहिर वा आँगनमा माटोको दियो बालिन्छ । यो दियो विशेष गरी यमराजको उद्देश्यले बालिने हुनोले यसलाई यम दीप भनिन्छ । यो दियो बाल्दा घरको मुख्य ढोकाबाट दक्षिण दिशा तर्फ फर्काएर राखिन्छ, किनकि दक्षिण दिशालाई यमराजको दिशा मानिन्छ ।
यसले परिवारका सदस्यहरुलाई अकाल मृत्युबाट बचाउने र दीर्घायू प्रदान गर्ने जनविश्वास छ । परम्परा अनुसार यस दिन मुख्य रुपमा १३ वटा दियोहरु घरका विभिन्न पवित्र स्थानहरु (जस्तैः मन्दिर, तुलसीको बोट, पानी राख्ने ठाउँ, ढोका, दिजोरी, आदि) मा बाल्ने प्रचलन पनि रहिआएको छ ।
धनतेरस पर्व केवल भौतिक उपभोग वा किनमेलको उत्सव मात्र होइन, यो हाम्रो जीवनमा स्वास्थ्य, सन्तुलन, समृद्धि र सकारात्मकताको स्वागत गर्ने अवसर हो । भगवान धन्वन्तरिबाट आरोग्यताको आशीर्वाद र माता लक्ष्मी तथा कुबेरबाट आर्थिक स्थिरता एवम् समृद्धिको कामना गर्दै मनाइने यो पर्व मानव समाजलाई अध्यात्म र विज्ञान दुवैतिर अग्रसर हुन प्रेरणा प्रदान गर्दछ ।
धनतरेस पर्वले सम्पूर्ण मानव जगतमा सुन, शान्ति, सुस्वास्थ्य, दीर्घायू र समृद्धिको सञ्चार गरोस्
: शुभ धनतरेस ।
