तुलसीपुर (दाङ), २३ कात्तिकः यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ । योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीयलगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो । प्रत्येक वर्ष गाई पूजाको अवसरमा यसरी गौशालामा गाईपूजा गर्ने गरिएको फाउन्डेसनका अध्यक्ष भोलानाथ योगीले बताउनुभयो ।
सोही अनुरुप यो वर्ष पनि पूजा गरिएको उहाँको भनाइ थियो । “प्रत्येक वर्ष गाई तिहारको दिन यसरी गौशालामै पूजा गर्ने गरिन्थ्यो”, उहाँले भन्नुभयो, “यस वर्ष पनि सोहीअनुरुप गाई पूजा गरियो ।” साही दिन लक्ष्मीको हवन पूजासमेत गरिएको थियो । साथै विभिन्न दाताहरूले गाईलाई खानासमेत प्रदान गरेका थिए । जहाँ विश्वविद्यालयको जग्गा भाडामा लिएर गौशाला सञ्चालनमा ल्याइएको छ । गौशाला सञ्चालनमा भने निकै चुनौती रहेको अध्यक्ष योगीले बताउनुभयो । गाईगोरुलाई खानपानका लागि निकै समस्या हुने गरेको छ । त्यसका लागि विभिन्न दाताहरूको सहयोगले नै गौशाला चलिरहेको अध्यक्ष योगीको भनाइ छ ।
गौसंरक्षण केन्द्रमा सामूहिक गाईपूजा
दमौली (तनहुँ), २३ कात्तिकः गाईपूजाका अवसरमा तनहुँका दुई गौसंरक्षण केन्द्रमा आज सामूहिक रूपमा गाईपूजा गरिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ र व्यास नगरपालिका–१० स्थित गौसंरक्षण केन्द्रमा धार्मिक विधिअनुसार गाईपूजा गरिएको हो । गाईपूजाका अवसरमा गौसंरक्षण केन्द्रमा रहेका गाईलाई माला लगाइदिने, टीका तथा पूजा गर्ने र मीठा परिकार खुवाएर सम्मान गरिएको थियो । शुक्लागण्डकी नगरपालिका–९ मा मुक्तिनाथ च्यवनधामको व्यवस्थापनमा गौसंरक्षण केन्द्र सञ्चालनमा छ । सो केन्द्रमा सामूहिक पूजा गरिएको मुक्तिनाथ च्यवनधामका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिनुभयो । छाडा रूपमा छोडिएका तथा सडकमा अलपत्र अवस्थामा रहेका गाईको संरक्षण, हेरचाह र व्यवस्थापन गर्ने उदेश्यले गौसंरक्षण केन्द्र स्थापना गरिएको अध्यक्ष लम्सालले बताउनुभयो । धार्मिक आस्थासँगै गाईको संरक्षण र व्यवस्थापनलाई जोड दिँदै केन्द्रले काम गर्दै आएको छ ।
त्यस्तै, व्यास नगरपालिका–१० स्थित गौसंरक्षण केन्द्रमा गाईपूजाका अवसरमा विशेष कार्यक्रम आयोजना गरियो । सो केन्द्रमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले गाईपूजा गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । गौसंरक्षण केन्द्रका अध्यक्ष तुल्सीराम सापकोटाका अनुसार गाईपूजाका अवसरमा केन्द्रमा रहेका गाईको सामूहिक पूजाआजा गरिएको हो । हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा सम्मान गर्ने परम्परा छ । तिहारअन्तर्गत गाईपूजाका दिन गाईलाई लक्ष्मीको प्रतीक मानेर पूजा गर्ने, माला लगाइदिने, मीठा परिकार खुवाउने र श्रद्धा व्यक्त गर्ने चलन रहेको छ ।
गाई संरक्षणका लागि सहयोग जुट्दै
कास्की, २३ कात्तिकः सडक तथा सार्वजनिक स्थानमा छाडिएका र बेवारिसे अवस्थामा रहेका गाईको संरक्षणका लागि पोखरा महानगरपालिका–१५ मझुवामा सञ्चालित पोखरा गौशाला (गौ सेवा आश्रम) लाई विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गर्दै आएका छन् । गौशालामा यही कात्तिक २१ गतेदेखि सञ्चालन भइरहेको ‘पञ्चदिवसीय गाई पूजा महोत्सव–२०८३’ मा गाई पूजा, दर्शन, गौसेवा तथा सहयोग सङ्कलन जारी छ । पुम्दीकोट धार्मिक तथा पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले गौशालालाई रु एक लाख ११ हजार १११ सहयोग गर्नुभएको छ ।
कार्यक्रम संयोजक लक्ष्मण पौडेल (हरिओम गुरु) का अनुसार हालसम्म करिब रु तीन लाख नगद सङ्कलन भएको छ । यसैगरी, गाईका लागि पराल, गुण, दाना, चोकर, पिठो तथा विभिन्न प्रकारका फलफूल सहयोगस्वरूप प्राप्त भएको उहाँले जानकारी दिनुभयो । गाईलाई असुरक्षित अवस्थामा सडकमा छाड्नुपर्ने अवस्था अन्त्यगरी आश्रय, आहार र आवश्यक हेरचाह गर्ने उद्देश्यले स्थापना गरिएको गौशालालाई व्यवस्थित र दिगो रूपमा सञ्चालन गर्न दाताले नगद तथा जिन्सी सहयोग गरेका छन् । गौशालाका परिकल्पनाकार नन्दगोपाल दासले सडक तथा सार्वजनिक स्थानमा असुरक्षित अवस्थामा रहेका गाईको संरक्षण गर्ने उद्देश्यले आश्रम स्थापना गरिएको बताउनुभयो ।
उहाँले गौशालाको सञ्चालन मुख्यतः दाताले उपलब्ध गराउने पराल, चोकर, दाना, अन्य खाद्यान्न तथा आर्थिक सहयोगमा निर्भर रहेको जानकारी दिनुभयो । “गौशालालाई दिगो रूपमा सञ्चालन गर्न सबै सहयोगी मनहरूको खाँचो छ । गाईको आहार र हेरचाहका लागि समुदाय, धार्मिक सङ्घसंस्था तथा दाताको निरन्तर सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो । गौशालाले गाईको संरक्षणसँगै धार्मिक तथा सांस्कृतिक परम्पराको जगेर्ना गर्दै आएको छ ।
महोत्सवमा सहभागी गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवरले गाईको संरक्षण र सम्मान धार्मिक आस्था तथा संस्कृतिसँगै सामाजिक र मानवीय दायित्वको विषय भएको बताउनुभयो । तिहारमा गाईको पूजा गर्ने धार्मिक परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गौशालामा पञ्चदिवसीय गाई पूजा महोत्सव आयोजना गरिएको हो । महोत्सवले सर्वसाधारणलाई गौशालामै पुगेर गाईको पूजा, दर्शन तथा सेवामा सहभागी हुने अवसर प्रदान गरेको छ । नौ वर्षअघि पाँच वटा गाईबाट सुरु गरिएको गौशालामा अहिले १५१ वटा गाई पुगेका छन् ।
रासस
