काठमाडौँ, भदौ १८। रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाइने भएको छ ।
आज बसेको मन्त्री परिषद् बैठकले यस्तो निर्णय गरेको हो। त्यस्तै, सरकारले भदौ २३ गते ‘जेन्जी’ सहिद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । राष्ट्रिय शोकका दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।
यस्तै बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार–व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यावसायिक पुनरुत्थान योजनाअन्तर्गत राहत, कर तथा महसुल छुटलगायतका सहुलियत र सुविधा उपलब्ध गराइने पनि सरकारले निर्णय गरेको छ ।
सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई एक प्रतिशत भन्सार महसुलमा २५ हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिइएको छ ।
