कास्की, भदौ २१। भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि त्यसको नकारात्मक असर देशको पर्यटकीय राजधानी पोखराको पर्यटन र समग्र अर्थतन्त्रमा समेत पर्न थालेको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशनको शनिबार उद्घाटन कार्यक्रममा सहभागी उद्योगी तथा पर्यटन व्यवसायीले विपद् प्रभावित क्षेत्रबाहेक नेपालका अन्य पर्यटकीय गन्तव्य सुरक्षित र सञ्चालनमा रहेको सन्देश अन्तरराष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विपद्का कारण पूरै देश नै असुरक्षित बनेकोजस्तो नकारात्मक सन्देश बाहिर गएको उल्लेख गर्दै उहाँहरूले पोखरा सुरक्षित रहेको र भ्रमणका लागि उपयुक्त गन्तव्य भएको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले प्राकृतिक विपत्तिको असर पोखराको पर्यटन क्षेत्रमा गम्भीर रूपमा पर्न थालेको बताउनुभयो । विपद्सम्बन्धी नकारात्मक सन्देशका कारण पर्यटक आगमन प्रभावित हुनसक्ने भन्दै उहाँले पोखराको अर्थतन्त्रमा पर्न सक्ने असरबारे समयमै चिन्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
“प्राकृतिक विपत्तिपछि अहिले पर्यटक आउन सकेका छैनन् । लामो समय पर्यटक आएनन् भने पोखराको अर्थतन्त्रमा कस्तो असर पर्ला ? यसबारे चिन्तनमनन गर्दै समाधानका लागि अहिल्यै लाग्नुपर्छ । ढिला गर्ने छुट हामीलाई छैन”, उहाँले भन्नुभयो ।
नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले विपद् प्रभावित क्षेत्रबाहेक नेपालका अधिकांश पर्यटकीय गन्तव्य खुला र सुरक्षित रहेको सन्देश अन्तरराष्ट्रिय क्षेत्रमा प्रभावकारी रूपमा प्रवाह गर्नुपर्ने बताउनुभयो । “विपद्को प्रत्यक्ष असर नपरेका क्षेत्रमा समेत पर्यटन गतिविधि घट्दा असर परेको छ । पोखरासहित नेपालको पर्यटन क्षेत्रको विकास तथा अन्तरराष्ट्रिय प्रचारप्रसारमा सक्रिय भूमिका खेल्नुपर्ने खाँचो छ”, उहाँले भन्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय समुदायसँग समेत सहयोग मागिएको बताउनुभयो । उहाँले महासङ्घले विश्वका ७० वटा उद्योग तथा वाणिज्य सङ्घलाई पत्र पठाएर नेपालको विपद् पुनःस्थापनामा सहयोग गर्न आग्रह गरेको जानकारी दिनुभयो ।
रासस
