टेकबहादुर बुढा
बाजुरा, भदौ २५ । बाजुराका दुर्गम क्षेत्रका गर्भवतीले सुत्केरी हुने समयमा अझै पनि ठूलो जोखिम मोल्नुपर्ने बाध्यता छ । नौवटा स्थानीय तहका प्रायः वडामा आधारभूत स्वास्थ्य संस्थाको पहुँच छ तर विडम्बना, बाजुराका आमाले अझै बाटोमा बच्चा जन्माउनुपर्ने पीडादायी अवस्था कायम नै छ ।
यस्तै, पीडादायी व्यथाको सिकार बन्नुभयो– खप्तड छेडेदह गाउँपालिका–४ की २६ वर्षीया कमला बोगटी । उहाँले मङ्गलबार दिउँसो बूढीगङ्गा नगरपालिका–६, फलासैन बजारमाथिको बाटोमा छोरालाई जन्म दिनुभएको हो ।
सुत्केरी व्यथा लागेर छट्पटाइरहनु भएकी कमलाको अवस्थाबारे स्थानीयले खबर गरेपछि स्वास्थ्यकर्मीको टोलीले बाटोमै प्रसूति सेवा दिएको हो । कमलालाई सुत्केरी व्यथा लागेर बाटोमा अलपत्र परेको देखेपछि स्थानीयले खबर गरेपछि बाजुरा स्वास्थ्य चौकी टाँटेकी स्वास्थ्यकर्मी हस्त खडायत, ईश्वरी केसी र जिल्ला अस्पतालमा कार्यरत नर्स निशा रोकाय घटनास्थलमा पुग्नुभएको थियो ।
“हामी त्यहाँ पुग्दा प्रसव पीडाले छटपटाइरहेकी कमलाले छोरालाई जन्म दिनुभयो । जन्मिएपछि बच्चाको अवस्था केही असहज रहे पनि केही समयपछि रुन थाल्यो,” नर्स रोकायाले भन्नुभयो, “बाटोमै सालनाल व्यवस्थापन गरी आमा र बच्चालाई तत्काल बाजुरा स्वास्थ्य चौकीमा ल्यायौँ,” उहाँले भन्नुभयो, “अहिले आमा र बच्चाको अवस्था सामान्य छ ।”
स्वास्थ्यकर्मीका अनुसार कमलाले बाटोमै बच्चा जन्माउनुको मुख्य कारण अन्धविश्वास रहेको पाइएको छ । यही भदौ १९ गते कृष्ण जन्माष्टमी मनाउन माइतीघर बडीमालिका नगरपालिका–६, कोर्ध गाउँ पुग्नुभएकी कमलालाई २२ गते माइतीघरमै सुत्केरी व्यथा लागेको थियो ।
विवाहित महिलाले माइतीघरमा बच्चा जन्माउनु हुँदैन र त्यसो गरे देवता रिसाउँछन् भन्ने रूढीवादी मान्यताका कारण कमला स्वास्थ्य संस्था जानुको सट्टा मङ्गलबार बिहान त्यहाँबाट आफ्नो घरतर्फ फर्किनुभएको थियो ।
यस्तै, जनचेतनाको कमी लगायतका कारण कतिपय गर्भवतीले स्वास्थ्य संस्था पुग्नुअघि नै घरमा वा बाटोमै शिशु जन्माउनुपर्ने वाध्यता रहेको स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य अधिकृत विनोद धामीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा गत वर्ष एक हजार २२२ महिलाले स्वास्थ्य संस्थामा र ३३ जनाले घरमै शिशुलाई जन्म दिएका छन् ।
यस्तै, साउन १५ गते स्वामीकार्तिक खापर गाउँपालिका–२, उदिना बस्ने २४ वर्षीया सौरी बुढाले स्वास्थ्य संस्था टाढा हुँदा ओडारमै छोरालाई जन्म दिनुभएको थियो । साउन १८ गते सोही गाउँपालिका–३, जोरुकी २४ वर्षीया अनिता महताराले पनि बाटोमै शिशुलाई जन्म दिनुभएको थियो । सुत्केरी व्यथा सुरु भएपछि स्थानीय युवाले घरबाटै स्ट्रेचरमा बोकेर स्वास्थ्य संस्थातर्फ लैजाँदै गर्दा उहाँले बीच बाटोमै बच्चा जन्माउनुभएको थियो ।
रासस
