Chinakot hill
म्याग्दी, भदौ २५ । म्याग्दीको मङ्गला गाउँपालिका–३ मा रहेको ऐतिहासिक चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकार, मंगला गाउँपालिका, चिनाकोत आमा समूह र देउराली सामुदायिक वन उपभोक्ता समूहको रु ५० लाख बढी लगानीमा पूर्वाधार निर्माण भएको हो ।
चिनाकोत संरक्षण तथा व्यवस्थापन समितिका सचिव प्रकाश पुनले आर्थिक वर्ष २०७६÷७७ देखि २०८२÷८३ सम्म चिनाकोतको पर्यटन पूर्वाधार निर्माणमा प्रदेश सरकारबाट रु ४० लाख, मङ्गला गाउँपालिकाबाट रु आठ लाख र आमा समूहको रु दुई लाख लगानी भएको बताउनुभयो ।
“एक किलोमिटरभन्दा बढी पक्की र करिब दुई किलोमिटर कच्चि पदमार्ग तथा सडक, दृश्य अवलोकन स्थल र आश्रयस्थल निर्माण भएको छ,” उहाँले भन्नुभयो “बरंजा गाउँदेखि चिनाकोटसम्म विद्युत् विस्तारमा देउराली सामुदायिक वन उपभोक्ता समूह तथा योजना कार्यान्वयनमा विनियोजन भएको कुल बजेटको १० प्रतिशत स्थानीयबासीले श्रमदान गरेका छाँै । खानेपानीको व्यवस्था गरिएको छ ।”
विसं २०७५ अघिसम्म सुनसान चिनाकोटमा पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटक आउन थालेको देउराली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर छन्त्यालले बताउनुभयो । “सङ्घीयता अघिसम्म एउटा टहरा मात्र रहेको चिनाकोटमा प्रदेश र स्थानीय तह मार्फत सुरक्षित रुपमा पुग्न सकिने पदमार्ग बनेपछि पाहुना आउन थालेका हुन्,” उहाँले भन्नुभयो, “पहाडको टाकुरामा रहेको चिनाकोटमा सुरक्षाका लागि वरपर घेराबार र पुरातात्विक महत्वका सामग्रीको संरक्षणको आवश्यकता छ ।”
समुन्द्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको चिनाकोटबाट सूर्योदयको साथै अन्नपूर्ण, धौलागिरि, गुर्जा र माछापुच्छ्रे हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडामा समेटिएको बरञ्जाको शिरमा रहेको चिनाकोटदेखि म्याग्दीको पश्चिमी भेगका ग्रामीण बस्ती, पहाडी भूगोल, नागबेली परेर बगेको म्याग्दी नदी अवलोकन गर्न सकिन्छ ।
बरञ्जाका अगुवा रणबहादुर रोकाका अनुसार भुरे टाकुरे राजाका पालामा चिनाकोटमा बरञ्जी राजाको दरबार थियो । “दरबारका पर्खालको भग्नावशष, खाद्यान्न पिस्नका लागि प्रयोग हुने जातो लगायतका ऐतिहासिक वस्तुहरु अझै चिनाकोटमा छन्,” उहाँले भन्नुभयो, “रानीको कपाल कोर्ने ढुङ्गा, बेहुला, बेहुली नाम गरेका ढुङ्गा पनि अवलोकन गर्न सकिन्छ ।” चिनाकोटको फेदीमा रहेको थर्पुगाउँको दरबारमा खुडा, तरबार, ढाललगायत परम्परागत युद्धमा प्रयोग हुने हात हतियार छन् ।
रासस
