अटवारी पर्व
काठमाडौं, भाद्र २८ ।
अटवारी पर्व थारु समुदायको माघीपछिको दोस्रो ठूलो र महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । विशेषगरी नेपालको पश्चिम तराईका जिल्लाहरु दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदायले यो पर्व निकै हर्सोल्लासका साथ मनाइन्छ ।
थारु भाषामा आइतबारलाई अटवार भनिने र यो पर्व आइतबार कै दिन मनाइने भएकोले यसको नाम अटवारी रहन गएको हो । यो पर्व मूलतः दाजुभाइ र दिदीबहिनीबीचको अगाध प्रेम, सद्भाव र भ्रातृत्वको प्रतीक मानिन्छ ।
थारु किंवदन्तीअनुसार अटवरी पर्वको सम्बन्ध महाभारतको कथा र थारु राजा दङ्गीशरणसँग जोडिएको छ । महाभारत कालमा पाँच पाण्डवहरु वनवासमा रहेका थारु दाङका थारु राजा दङ्गीशरणको राज्यमा उनीहरुको मित्रता थियो । एक पटक राजा दङ्गीशरणको राज्यमा शत्रुहरुले आक्रमण गर्दा भोजन गरिरहेका भीम (थारु भाषामा भेवाँ) खाना छोडेर राजाको रक्षा गर्न युद्धमा होमिएका थिए ।
भीमले शत्रुमाथि विजय प्राप्त गरी राजा र जनताको रक्षा गरेको दिन आइतबार परेकोले, उनै भीमको शौर्य, बल र न्यायको सम्मानमा थारु समुदायले यो पर्व मनाउने गर्दछन् । यस दिन भीम र सूर्य देवताको विशेष पूजा गरिन्छ ।
यो पर्व आफ्नै मौलिक परम्परा अनुसार मुख्यतया दुई दिन मनाउने गरिन्छ । यसको सुरुवात भिन्य¥या वा दर खाने रातबाट सुरु हुन्छ । आइतबार बिहान हुनुअघि शनिबारको रातमा व्रतालुहरुका लागि विशेष खानपानका व्यवस्था गरिन्छ, जसलाई भिन्स¥या भात भनिन्छ । बिहानीपख कुखुराको भाले बास्नु अगाडि नै यो दर खाइसक्नु पर्ने प्रचलन छ ।
सोही दिन आइतबार थारु पुरुषहरु र कतिपय ठाउँमा महिलाहरु पनि दिनभरि निराहर व्रत बस्छन् । दिउँसो नुहाइधुवाइ गरी चोखो भएर चामलको पिठोबाट ठोप्वा (एक प्रकारको रोटी) र विभिन्न परिकार पकाइन्छ, र साँझ अग्नि र भीम देवतालाई ती परिकार अर्पण गरी पूजा गरिन्छ ।
अग्नि र भीमको पूजा गरिसकेपछि व्रतालुहरुले ती परिकार र फलफूल आफूले खानु अघि आफ्ना थालबाट आधा भाग आफ्नो विवाहित दिदीबहिनीहरुका लागि छुट्याउँछन् । यसरी छुट्याइउको भागलाई अग्रासन वा कोसेली भनिन्छ । अटवारी पर्वको दोस्रो दिन अर्थात् सोमबार बिहान व्रतालुहरु पुनः नुहाइधुवाइ गरी चोखो हुन्छन् । यस दिन ३, ५, ७ वा ९ प्रकारको बिजोर संख्यामा सागसब्जी र परिकार पकाइन्छ र आफ्ना दिदीबहिनीहरुलाई खाना पु¥याउन जाने चलन पनि रहेको छ ।
यस पर्वले माइती र चेलीबेटीबीचको सम्बन्धलाई थप सुमधुर बनाउने, वर्षभरि माइती आउन नपाएका दिदीबहिनीहरु दाजुभाइले ल्याएको अग्रासन दिएर खुसी पार्ने र दाजुभाइलाई विशेष आदर सत्कारका साथै मिठोमसिनो खुवाएर बिदा गरी सम्पन्न गरिन्छ । यसले गर्दा परिवार र समाजका आपसी मेलमिलाप र एकताको भावना जगाउँछ ।
एकीकृत नेपाल
