माणिक दह
सिरहा, भाद्र २८ ।
सिरहाको महत्वपूर्ण पुरातात्विक स्थल माणिक दहको पूर्वमा पकडिया गढ, उत्तरमा ढोडनदेवीथान र दक्षिणमा झिट्टी भन्ने गाउँ रहेको छ ।
यस दहको ऐतिहासिकता बारेमा कुनै पुरातात्विक प्रमाण त भेटिएको छैन । कसैले राजा माणिक सरदारको दरबार भएको स्थल हो भन्छन् भने कसैले राजा सलहेशले प्रत्येक बिहान नुहाउने पोखरी हो भन्ने जनविश्वास छ । राजा सलहेस मैसोथा गढीबाट हरेक विहान यो दहमा आएर नुहाउने गर्दथे भन्ने स्थानीय गाथा छ । माणिक दहमा नुहाएर सलहेस फूलबारीको फूल टिपी बाला सुन्दरीमा रहेकी आफ्नी इष्टदेवीलाई पूजा गर्न जान्थे भन्ने यस गाथामा उल्लेख छ ।
सलहेश गाथालाई सर्वसाधारणहरु यसरी गाउँछन् –
खनुखन रही छी बेलका,
पहाडमे खन रही छी सडर बागमे,
मानिक दह स्नान करेछी,
भागैछि त एही मलिनियां खातिर ।
सलहेसले एकैदिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिल्हट अखाडामा कुस्ती खेल्ने, सलहेस गढमा कुलदेवीको पूजा गर्ने र प्रजाका पीर–मर्का सुन्ने गरेको किंवदन्ती छ । विक्रम संवत् १३२५ मा मैसोथा राज्यका राजा सलहेस र उनकी प्रियसी मालिनीबीच बिहेपछि उक्त फूलबारी नै सलहेसका नामले प्रसिद्ध हुन पुगेको कथन छ ।
खुट्टी नदीले बाटो परिवर्तन गर्ने क्रममा यो दह बनेको विद्वानहरुको अनुमान छ । यस दहको सुन्दरताबाट प्रभावित भएर सेन राजाहरुले दहको जीर्णाेद्दार गरी त्यसको नाम माणिक दह राखे या माणिक सेन स्वयम्ले नै यसको जीर्णाेद्दार गरी आफ्नो नामबाट पोखरीको नाम राखेको हुन सक्ने अनुमान गरिएको छ । किंवदन्ती अनुसार यो दहको बीचमा एउटा काँचको इनार थियो । जहाँबाट एउटा हात्ती निस्कन्थ्यो भन्ने किंवदन्ती रहेको छ ।
लहान नगरपालिका २४ नम्बर वडास्थित मानिक दह पोखरीमा सँगसँगै मेला आयोजना हुने गरेको छ । ती स्थानमा राजा सलहेसलगायत उनको गाथासँग जोडिएका पात्रहरूको हात्तीमा सवार मूर्ति देख्न पाइन्छ । मेलामा कतिपयले आफ्नो मनोकामना पूरा गराउन अनेक किसिमका भाकलसमेत पुकार्ने गरेका छन् ।
निःसन्तान सन्तान प्राप्तिका लागि, दीर्घरोगी सुस्वास्थ्य र मनोकामना पूरा गर्न सलहेसको पूजा गर्छन् । भाकल पूरा भएपछि सलहेसलाई बोकापाठीको बलि दिने र कागजको छाता चढाउने परम्परा छ । यो फूलबारीमा सलहेसलाई साक्षी राखेर विवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वास छ ।
उक्त मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँबाट आएका सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । यहाँ वैशाख १ गते सिरुवा मेला लाग्ने गर्छ ।
तस्वीर : रामकुमार राई/एकीकृत नेपाल
