काठमाडौं, भदौ ३१ । चिलिमे जलविद्युत आयोजनाको सुरुङमा आज नेपाली सेना सहितको उद्धार टोलीले तीन वटा शव फेला पारेको छ।
उक्त सुरुङमा रहेको हिलो र लेदो हटाउने क्रममा गोताखोरसहितको टोलीले पानी निस्किरहेको दुलो भेटी उक्त दुलोबाट प्रवेश गरी टनेलको अन्तिम किनारासम्म खोजी कार्य गर्दा ३ वटा शव फेला पारेको हो।
फेला परेका शवमध्ये २ वटा शव उद्धार गरी बाहिर निकालिएको छ भने बाँकी एक शव बाहिर निकाल्ने कार्य जारी रहेको छ। हाल सुरुङमा थप खोजी कार्य भइरहेको नेपाली सेनाले जनाएको छ।
रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले उपलब्ध जनशक्ति परिचालन गरी उद्धार गर्दै आएको छ ।
हेलिकप्टरमार्फत स्याफ्रूबेसी मा झारिएको एक्जाभेटर र लोडरले चट्टान फोडी करिब १,०५० मिटर बाटो निर्माण गरी सुरुङसम्म पुर्याई निरन्तर हिलो र लेदो हटाउने कार्य गरिएको थियो।
लेदो हटाउने क्रममा टनेलको करिब ७० मिटरमा भित्रदेखि पानी निस्किरहेको फेला परेको र पानी निस्किएको प्वालबाट उद्धार टोली प्रवेश गरी करिब १३० मिटरसम्म खोजी गर्दा पानीको सतह टनेलको माथिल्लो भागसम्म पुगेका कारण Excavator प्रयोग गर्न नसकिने अवस्था सिर्जना भएको थियो।

