काठमाडौं, ११ असोज — नेपाल प्रहरीबाट पक्राउ परेका सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई भेट्न आफ्नो अनुगमन टोलीलाई रोकिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ।
आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार, जबराको पक्राउसँग सम्बन्धित घटनाको अनुगमनका लागि आयोगका सदस्यको नेतृत्वमा उच्चस्तरीय टोली टेकुस्थित प्रहरी परिसर पुगेको थियो।
तर त्यहाँ खटिएका प्रहरीले टोलीलाई जबरासँग भेटघाट गरी जानकारी लिनबाट रोकेको र यसको कारण समेत नखुलाएको आयोगले जनाएको छ। प्रहरीको उच्च नेतृत्वसँग कुरा गर्दा पनि अनुगमन गर्न नदिइएको कारण स्पष्ट पारिएन।
राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४(क) अनुसार आवश्यकता अनुसार सार्वजनिक संस्था, निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्ने र मानव अधिकार संरक्षणका लागि सुधार सम्बन्धी आवश्यक सुझाव तथा निर्देशन दिने अधिकार आयोगलाई रहेको बताइएको छ। यस्तो संवैधानिक तथा कानूनी अधिकार विपरीत नेपाल प्रहरीबाट भएको व्यवहारप्रति आयोगले खेद व्यक्त गरेको छ।
आयोगले निष्पक्ष छानबिनमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानूनी दायरामा ल्याउन र आयोगलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।
