भाद्र शुक्ल द्वितीय
काठमाडौं, भदौ २८ ।
पौराणिक कथा अनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पतिका रुपमा पाउन गौरीघाटमा तपस्या गरेकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरुले उनलाई हरण गरेर लुकाएका थिए । साथीहरुले लुकाएकै ठाउँमा भाद्र शुक्ल तृतीयाका दिन पार्वतीले निराहर व्रत बसी महादेवलाई पतिका रुपमा प्राप्त गरेकी हुनाले सोही समयदेखि हरितालिका तीजको व्रत बस्ने परम्परा सुरु भएको मानिन्छ । आफ्ना साथीसङ्गीहरुबाट पार्वतीलाई लुकाएको मूल घटनाबाट नै हरितालिका नाम रहेको हो भन्ने गरिन्छ ।
नेपाली नारीहरुको महान् पर्व हरितालिका (तीज) को पहिलो दिन भाद्र शुक्ल द्वितीयका अवसरमा आज व्रतालुहरुले दर खाने तयारी गरेका छन् । आज बेलुकी दर खाए पछि औपचारिक रुपमा चार दिन सम्म तीज मनाइने तीज पर्वको सुरुवात हुन्छ । भोलिपल्ट नारीहरु निराहार व्रतका बस्नको लागि शरीरलार्इृ शक्ति दिने मीठा एवम् अडिला परिकारहरु खाने परम्परा रहेको छ ।
तीजमा माइती तथा दाजुभाइले छोरी चेली र दिदीबहिनीहरुलाई घरमा निम्ता गरी दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार, गहुँको रोटी, घिउजस्ता पोषणयुक्त र शक्ति दिने खाद्यपदार्थहरु खाइन्छ । धर्मशास्त्र अनुसार तृतीयाका दिन निराहर व्रत बस्नका लागि पूर्व तयारी स्वरुप रात दुई बाँकी छँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको छ ।
तीज पर्व ऋषि पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि मात्र समापन हुन्छ । द्वितीयामा दर खाएपछि तृतीयका दिन निराहर व्रत बसी शिवालयहरुमा पूजाअर्चना गरिन्छ । त्यसपछि गणेश चौथी मनाउँदै पञ्चमीका दिन स्नान र पूजा गरी व्रत समापन गरिन्छ । धार्मिक बाहेक महिलाहरुले वर्षभरिका दुःख, पीर र मर्काका लोकगीतहरुका माध्यमबाट अभिव्यक्त गर्ने र पुराना साथीभाइसँग सुख दुःख साट्ने अवसरका रुपमा पनि यो पर्वको ठूलो सामाजिक महत्व रहेको छ ।
पछिल्ला वर्षहरुमा तीजका नाममा अस्वाभाविक तडकभडक र विकृति बढेकोमा संस्कृतिविद् तथा समाजशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् । मूल तिथिभन्दा महिनौं दिन अघिदेखि नै दर खाने, गरगहना र पोसकको प्रदर्शन गर्ने तथा तामसी परिकार खाने जस्ता गतिविधिले तीजको मौलिक संस्कृतिलाई ओझेलमा पारेको छ ।
तीजको अवसरमा धेरै किसिमका लोकनृत्यहरु पनि नाचिन्छ । नेपालको पूर्वीभेगमा संगीनी गीतहरु गाएर संगीनी नृत्य नाच्ने परम्परा छ भने मध्य तथा सुदूरपश्चिमतिर गौरा गीतहरुका साथमा गौरानृत्य नाचिन्छ । यी व्रतमा आधारित नृत्यहरुले पनि तीज वा हरितालिका पर्वलाई विशेष बनाउने गर्दछ ।
