यँला पर्व
काठमाडौं, भाद्र २७ ।
नेपाल संवत्को ११ औं महिना यँला नेवाः समुदायको एउटा अत्यन्तै सांस्कृतिक, धार्मिक र जीवन्त पर्वको महिना हो । एक महिना लामो बौद्ध विहारहरुमा केन्द्रीत गुँला पर्व सकिने बित्तिकै सुरु हुने यँला पर्वले काठमाडौं उपत्यका र विशेषगरी काठमाडौं (येँ) सहरलाई उत्सवमय बनाउँछ ।
गुँलागा आमैं (कुशे औंसी) को साँझ शक्तिपीठहरुमा दिइने निमन्त्रणा पूजादेखि घटस्थापनासम्म चल्ने यो पर्वको आफ्नै मौलिक परम्परा, धार्मिक मान्यता र सामाजिक विशिष्टतता रहेको छ । यँला पर्वको औपचारिक सुरुवात गुँला महिनाको अन्तिम दिन अर्थात् गुँलागा आमैंको साँझबाट सुरु हुन्छ । यस दिन साँझ टोल टोलका बाजा खलःहरु परम्परागत बाजागाजाका साथ आफ्ना क्षेत्रका प्रमुख शक्तिपीठ, अजिमा द्योःछेँ तथा पीठहरुमा पूजाआजा र परिक्रमा गर्ने गर्दछन् ।
यो पूजा आगामी महिनाभर हुने सांस्कृतिक गतिविधि र सहर परिक्रमाका लागि देवीदेवताहरुसँग अनुमति माग्ने प्रक्रियाको रुपमा लिइन्छ । यसले शक्तिको उपासना र इन्द्रजात्रा केन्द्रीत यँला पर्वतर्फको रुपान्तरणलाई जनाउँछ ।
यँला पर्व केवल एउटा महिना वा जात्रा मात्र नभई काठमाडौं उपत्यकाको जीवन्त इतिहास, परम्परा, सङ्गीत र सामाजिक एकताको प्रतीक मान्ने गरिन्छ । आमैंको निमन्त्रणा पूजाबाट सुरु भई घटस्थापनाको भोजमा गएर टुङ्गिने यो पर्वले स्थानीय सहभागितामा नेवाः सभ्यता, संस्कृति र परम्परालाई परापूर्वकालदेखि निरन्तरता दिँदै आएको छ ।
एकीकृत नेपाल
