भक्तपुर, भदौ २९: गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक गणेश मध्येको सूर्यविनायक गणेश मन्दिरमा मङ्गलबार दिनभर सिन्दुर खेलेर गणेशको रथ यात्रा गर्दै मनाइने सूर्यविनायक गणेश खट जात्राको सम्पूर्ण तयारी सम्पन्न भएको छ ।
भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान गणेशको जन्मोत्सवको अवसरमा सूर्यविनायक नगरपालिका वडा नं. ६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरी मूल गणेशको मूर्ती खटमा राखी रथ जात्रा दिनभर विभिन्न टोलको परिक्रमा गरि साँझ पुनःमन्दिरमा ल्याएर पूजा एवं आरती गरि बिसर्जन गरिने सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पुर्खाले मनाउँदै आएको गणेश रथ जात्रा आर्थिक स्रोत नहुँदा वर्षौदेखि रोकिएको थियो, विगत २०७८ सालदेखि सुरु भएको यो जात्रा यस वर्ष हजारौँ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोल टोल पुर्याएर हर्षोल्लासका साथ मनाउने गरी तयारी पूरा भएको छ ।”
जात्रा मनाउन वडा नं. ६ र ८ कार्यालयको आर्थिक सहयोगमा जात्रा सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहन गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिमतर्फ राजथला टोलसम्म, पूर्वतर्फ चालिसे गाउँ गहनादेवी मन्दिरसम्म, उत्तरतर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोलटोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गर्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो ।
खट जात्राको क्रममा बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखिने र त्यसपछि खट जात्रा गरी टोलटोलमा परिक्रमा गरिन्छ । गणेशलाई रथारोहन गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराउने र जात्रामा सहभागी हजारौँ महिला पुरषलाई प्रसाद ग्रहण गराउने उहाँले जानकारी दिनुभयो ।
जात्रा व्यवस्थित रूपमा सम्पन्न गर्न सूर्यविनायक तीनधारा खानेपानी सरसफाइ उपभोक्ता समिति, ढलचा गुठी, मूल पुजारी ईश्वरीप्रसाद भट्टराई तथा विभिन्न धिमेबाजा समूहको सक्रिय सहभागिता रहने वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो । (रासस)
