किरातकालीन नाच
काठमाडौं, असोज ५ ।
पौराणिक मान्यता अनुसार नारी लज्जाको प्रतीक र शीलको गहना हो भने पुरुष स्वभावैले चञ्चल र उच्छृङ्खल प्रवृत्तिको हुन्छ । युवावस्थामा भगवान शिव (पुरुष तत्व) ले जुँगा मुसार्दै बाहिरी नारीहरुप्रति दृष्टि राखेपछि माता पार्वती (शक्ति तत्व) ले आफूप्रतिको माया र प्रेम घटेको महसुस गरी निराश हुन्छिन् ।
मानव जीवनमा पनि पुरुषको यही उच्छृङ्खल स्वभावलाई ऐनाको रुपमा देखाउन र शिवको आँखा खोलिदिन अनुशासनका गुरु खिँ नाटेश्वरले पार्वतीलाई कसैले नदेख्ने गरी आफ्नो पछाडि लुकाइदिन्छ । पार्वती हराएपछि महादेवमा आउने मानसिक अवस्थाहरुको चित्रण नै नागेंचा प्याखँको मुख्य कथावस्तु हो । यो नाचलाई विभिन्न विद्वानहरुले किरातकालीन नाच भनेर चर्चा गरेका छन् ।
नेपाली नृत्य परम्परामा अत्यन्त प्राचीन, अमूर्त एवम् शास्त्रीय परम्परागत तथा नाट्य परम्परामध्ये नागेंचा प्याखँ एक अद्वितीय सांस्कृतिक धरोहर हो । प्राचीन देवपत्तन, पशुपति क्षेत्र तथा चारुमति विहारमा प्रत्येक वर्ष भव्य रुपमा मञ्चन गरिने यो नृत्य–नाटिका मूलतः भगवान शिव र जगज्जननी पार्वतीको पौराणिक कथा, विरह, भ्रम र पुनर्मिलनको कथावस्तुमा आधारित रहेको छ ।
यो नाचको चारुमति विहारभित्र प्रत्येक दिन अभ्यास भइरहेको छ भने यही असोज ११ गतेदेखि १३ गतेसम्म तीन दिनसम्म देवपत्तन र पशुपतिक्षेत्रका विभिन्न दवुः (डबली) हरुमा नचाइने नागेंचा प्याखँ संरक्षण समितिका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले जानकारी दिए ।
नागेंचा शब्दको ब्युत्पत्तिलाई नियाल्दा यसको सोझो सम्बन्ध प्राचीन नेवारी बाजा खिँको बोलसँग जोडिन्छ । खिँ बाजाको दायाँ र बायाँ भागबाट निस्कने ध्वनि तरङ्गहरुबाट यसको नामकरण भएको मानिन्छ । खिँ बाजाको दायाँ भागबाट नाङ्ग र चाः र गेः बोल बाजाको बायाँ भागमा आघात गर्दा निस्कने गर्दछ । यसरी नाङ्ग, गेः, चाः, जस्ता बोलहरु मिलेर नागेंचा शब्दको निर्माण भएको हो ।
अर्को शास्त्रीय तथा व्यावहारिक अर्थमा, नाङ्गा वा नाङ्गो शब्दले आधा शरीर वस्त्रविहीन बनाई नृत्य प्रदर्शन गरिने नृत्य स्वरुपलाई जनाउँछ । पौराणिक तथा तान्त्रिक दर्शन अनुसार आधार शरीर अननावृत्त (नाङ्गो) राखेर नृत्य प्रस्तुत गर्ने ब्रह्माण्डका एकमात्र आराध्य देव भगवान महादेव हुन् । त्यसैले, आधार शरीर नाङ्गो बनाई महादेव र पार्वतीको दिव्य लीला प्रदर्शन गरिने भएकैले यस नृत्यलाई नागेंचा प्याखँ वा नागेनाथ नाच भनिएको हो ।
नागेंचा प्याखँ केवल एउटा मनोरञ्जनात्मक नृत्य मात्र नभएर तन्त्र, योग, नाट्यशास्त्र र सङ्गीतको अनुपम सङ्गम पनि हो । नेवा: संस्कृतिमा भगवान महादेवका अनेक रुपमहरु मध्ये नासःद्य (नृत्यनाथ वा नाट्येश्वर) लाई सङ्गीत, नृत्य र नाट्यकलाका अधिष्ठात्री देवता मानिन्छ ।
कुनै पनि व्यक्तिलाई प्रभावकारी भाषण दिन, कथा वाचन गर्न, अभिनय गर्न र अन्य कलाहरुको विविध क्षेत्रमा निपुण हुन नासःद्यको असीम कृपा चाहिन्छ । नाट्यशास्त्रमा रसलाई काव्य र नृत्यको आत्मा वा प्राण्तत्व मानिएको छ । रसको शब्दिक अर्थ आनन्द भन्ने हुन्छ । नासःद्यःलाई नवरसको प्रतीक पनि मानिन्छ । नागेंचा प्याखँमा नवरसका भावहरुलाई नृत्य र अभिनयद्वारा जीवन्त रुपमा प्रस्तुत गरिन्छ ।
योग र तन्त्रशास्त्रमा शरीरभित्रको सूक्ष्म ऊर्जा (कुण्डलिनी) लाई जागृत र प्रवाहित गर्न मुद्राको प्रयोग गरिन्छ । मुद्रालाई एक शक्तिशाली तान्त्रिक यन्त्र नै मानिन्छ । नागेंचा प्याखँ विभिन्न तान्त्रिक एवम् शास्त्रीय मुद्राहरु देखाएर नाचिने नाच हो । यस नाचको अर्को मुख्य विशेषता ताल हो ।
शास्त्रीय मान्यता अनुसार गीत बिना नै नृत्य र नाटक सम्भव भए पनि तालबिना नृत्य कहिल्यै हुन सक्दैन । यो नाच पूर्णतः तालमा आधारित नाच हो । यसमा गीत बिना पनि बाजाको भिन्न भिन्न ताल र धुनबाट भाव र नवरस व्युत्पन्न गरेर गम्भीर अभिनय गरिन्छ ।
कथानक र रसको आधारमा नागेंचा प्याखँ

पहिलो खण्डमा शिव र पार्वतीको लास्य प्रकृतिको नाच हुन्छ । दोस्रो खण्डमा पार्वती (शक्ति) ओझेलमा परेपछि शिव (पुरुष तत्व) बेचैन हुन्छ । पार्वतीलाई खोज्दै, समाजसँग सोधीखोजी गर्छ । अझै पनि नभेट्यएपछि रुन थाल्छ । यसबेला रोएर आँखा रातोरातो बनाउने, नाकबाट सिँगान बगाउँछ । आफैलाई पिट्दै पागलजस्तै डबली वरिपरि अनियन्त्रित हुन्छ र लखतरान पर्छ ।
तेस्रो खण्डमा पार्वतीको लामो बिछोडले गर्दा शिलको मस्तिष्कमा दिग्भ्रम उत्पन्न हुन्छ । उसले डबलीमा नृत्य हेर्न बसेका सम्पूर्ण नारीहरुलाई आफ्नै अद्र्धाङ्गिनी वा पार्वती देख्न थाल्छ । शिवले ती नारीहरुलाई प्रेममा पार्नको लागि आफुसँग भएको चाँदीको गहना (जुन जयबागेश्वरीको चाँदीको सिक्री हो), सुन र हिरामोतिको लोभ देखाउँदै अनुनय–विनय गर्छ ।
चौथो खण्डमा शिव दिनरात भौतारिँदै पार्वतीलाई खोज्दछ । धाराको पानी बगेसरह असिनपसिन हुँदै, पसिना पुछ्दै अँध्यारोलाई चिर्न चिरागको साहरा लिन पुग्छ ।
पाँचौ खण्ड शिवको अति विरह र करुणा अवस्था देखेर गुरु खिँ (नाटेश्वर) ले आफ्नो पछाडि लुकाएकी पार्वतीलाई शिवको सामुन्ने ल्याइदिन्छ । आफ्नी प्राण प्यारी पार्वतीलाई देख्नसाथ शिवमा अपार खुसी र उमङ्ग पैदा हुन्छ ।
छैटौं खण्ड नाचमा शिवले अघि गहनाको लोभ देखाएर बोलाएका अन्य नारीहरुतिर इसारा गर्दै तिमीहरु मेरी पत्नी होइनौ, मेरी पार्वती त यी हुन् भन्दै औंलाले पार्वतीतिर देखाउँने र रातो रुमाल हल्लाएर हराएकी पार्वती पाएको खुसी व्यक्त गर्ने । सबै नारीहरुसँग माफी माग्ने र आफूलाई छाडेर गएकोमा प्रेम मिसिएको भावमा क्रोध व्यक्त गर्ने गर्दछ । अन्त्यमा, एक अर्काको गालामा मायालु चुम्बन गर्दै नागेंचा प्याखँ सम्पन्न हुन्छ ।

यो नाचको ऐतिहासिक प्रमाण, परम्परा र संरक्षणकाे इतिहास
इतिहासकार कुलचन्द्र कोइरालाको पुस्तक आराध्यदेव पशुपतिका अनुसार शिवको मुकुट, तासको सुरुवाल र पार्वतीको जामा एवम् शीरको मुकुटको अध्ययन गर्दा यो नृत्य किरातकालीन सभ्यताको झलक दिने खालको उल्लेख गरिएको छ ।
ईशा पुर्वको सहस्राब्दीमै नृत्यका विभिन्न विधा विकसित भइसकेकाले यो नृत्य प्राचीन मान्ने गरिएको छ । भारतको प्राचीन १६ जनपदका विभिन्न राजाहरुको नामहरुको प्रसंग पनि नाचको गीतहरुमा गाइन्छ ।
मल्लकाल र शाहकालमा पनि नागेंचा प्याखँको निरन्तरता रहको थियो भन्ने कुरा विभिन्न प्रमाणहरुले स्पष्ट पार्छ । वि.सं. १८७० राजा गीर्वाणयुद्ध विक्रम शाहको लालमोहर पनि यसको प्रमाण हो । यस लालमोहरमा नाचको सञ्चालन र खर्च व्यवस्थापनका लागि पहिलो पटक अमालकोट कचहरीलाई चौध मोहर छुट्याएको देखिन्छ ।
यो नाचको क्रममा गाइने च्वो तालको धिरे धिरे चलो… बोलको गीतमा राजा सुरेन्द्र विक्रम शाह र प्रताल तालको जय जय नाटेश्वर …. बोलको गीतमा राजा पृथ्वी वीरविक्रम शाहदेवको स्तुति गरिएको पाइन्छ । जसले शाह राजाहरुले पनि यस नाचको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको पुष्टि हुन्छ ।
यो नृत्य चाबहिलस्थित चारुमति विहारका बज्रपाणी लोकेश्वरका शाक्य गुठीयारहरुद्वार हरेक वर्ष पालैपालो सञ्चालन गर्ने परम्परा छ । यसले शैव नृत्यको संरक्षण, प्रवद्र्धन र सञ्चालनमा बौद्ध विहारको संलग्नताले धार्मिक सहिष्णुता भएको लिच्छविकालको आभास दिन्छ ।
वि.सं. २०७० मा शाक्य गुठीयार र पशुपति क्षेत्र विकास कोषबीच सञ्चालनसम्बन्धी केही विवाद भएपछि यो ऐतिहासिक नाच केही वर्ष रोकिएको थियो । जसले गर्दा नागेंचा प्याखँ लोप हुने अवस्थामा पुगेको थियो ।
वि.सं. २०७७ मा काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा जलदराज वैद्यको अध्यक्षतामा ११ सदस्यीय नागेंचा प्याखँ संरक्षण समिति गठन भई यसको पुनरुत्थान गरियो ।
वि.सं. २०७८–२०८० मा कोरोना महामारीका कारणले देवपत्तनको नासः चोकमा छोटकारीमा नृत्य सञ्चालन गरिए पनि वि.सं. २०७९ भदौ २६–२८ र वि.सं. २०८० आश्विन १३–१५ देखि परम्परागत डबलीहरुमा हरेक वर्ष पुनः प्रदर्शन गरिँदै आएको छ ।
नागेंचा प्याखँको भेषभूषा, पात्र र बाजाको संरचना
यस नृत्यमा शिव र पार्वती दुवैको भूमिका साना केटा बच्चाहरुले गर्ने परम्परा रहेको छ । यी बाल कलाकारहरुले लगातार ५ वर्षसम्म शिव र पार्वती बनेर नाच्ने पर्छ । यसमा जुनसुकै जातको बच्चाहरुले भाग लिन पाउँछन् । त्यसपछि अर्को पुस्ताका बालकहरुलाई प्रशिक्षण दिने गरिन्छ
। प्रत्येक वर्ष भाद्र प्रतिपदा (सोह«श्राद्धको पहिलो दिन) देखि तृतीय तिथिसम्म तीन दिन देवपत्तन तथा चाबहिल क्षेत्रमा यो नाच सञ्चालन गरिन्छ । पहिलो दिन जयबागेश्वरीमा आरती, नासः चोकमा पूजा गरी पशुपति नवग्रह अगाडि, भुवनेश्वरी डबली, नवदुर्गा डबली र द्यःल्यामा नाच प्रदर्शन गरिन्छ ।
दोस्रो दिन नासः चोक, पशुपति मूल भट्ट र अन्य चार भट्ट निवास, विश्वरुप मन्दिर अगाडि र गुह्येश्वरी मन्दिर प्राङ्गणमा नाचिन्छ ।
तेस्रो वा अन्तिम दिन पशुपतिको नासःचोक, मित्रपार्क चोक, चाबहिल चन्द्र विनायक गणेश मन्दिर, चारुमति विहार वा कथुवहिल डबली र नासःचोकमा नागेंचा प्याखँ नाचेर सम्पन्न गरिन्छ ।
नागेंचा प्याखँ केवल एउटा परम्परागत लोकनृत्य मात्र नभएर मानव जीवनको यथार्य, दम्पतीबीचको प्रेम, त्याग, समर्पण, र अनुशासनको गहन दर्शन बोकेको अमूर्त सांस्कृतिक सम्पदा हो । जटिल मुद्रा, तान्त्रिक ताल, नवरसमा जीवन्त अभिनय र ऐतिहासिक भेषभूषाले सजिएको यो नाचले प्राचीन किरातकालदेखि मल्लकाल र शाहकाल हुँदै आजको दिनसम्म नेपालको मौलिक पहिचानलाई जोगाएर राखेको छ । यस्ता दुर्लभ र ऐतिहासिक सांस्कृतिक धरोहरहरुको निरन्तर संरक्षण र प्रवद्र्धन गर्नु आजको पुस्ताको पनि प्रमुख दायित्व हो ।
एकीकृत नेपाल
