काठमाडौं, भदौ २९ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले एटीएम मेसिनबाट रु. १०० को नयाँ नोट पनि वितरण गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।
हाल बैंक तथा वित्तीय संस्थाहरूले एटीएम मेसिनबाट रु. १,०००।- र रु. ५००।- दरका नोटहरू मात्र वितरण गर्दै आएका छन्। तर ग्राहकहरूबाट भने रु. १००।- दरका नोट पनि एटीएमबाट पाइने व्यवस्था मिलाइदिन बेला-बेलामा माग आइरहेको थियो।
आगामी महान् चाडपर्व दशैंको उपलक्ष्यमा रु. १०० का नोट पनि एटीएमबाट वितरण गर्न सकिएमा बैंक तथा वित्तीय संस्थाहरूमा साना नोट साट्न आउने ग्राहकहरूको भीड उल्लेख्य रूपमा घट्ने आंकलन राष्ट्र बैंकले गरेको छ।
यस सम्बन्धमा केही बैंकहरूसँग गरिएको छलफलमा प्राविधिक रूपमा यो व्यवस्था मिलाउन सकिने जानकारी समेत प्राप्त भएपछि राष्ट्र बैंकले नेपाल बैंकर्स संघलाई पत्राचार गर्दै यो निर्देशन जारी गरेको हो।
यसरी रु. १०० को नोट एटीएमबाट नै झिक्न पाइने भएपछि चाडपर्वको समयमा नोट साट्नका लागि बैंकहरूमा लाग्ने लामो लाइन र भीडभाड यस पटकदेखि उल्लेख्य रूपमा कम हुने अपेक्षा गरिएको छ।
