काठमाडौँ, भदौ ३०। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ ।
सरकारले पुँजी बजार सुधार तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गरी पुँजीगत लाभकर ५० प्रतिशतले घटाएपछि आज लगानीकर्ताले उत्साहित भई कारोवार गर्दा बजार बढेको हो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव १९ अङ्कले बढेर ४६७ दशमलव ४५ मा पुगेको छ ।
त्यस्तै फ्लोट सूचक तीन दशमलव ५६ अङ्कले बढेर १८१ दशमलव १३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक तीन दशमलव १३ अङ्कले बढेर १५७ दशमलव ९१ मा पुगेको छ ।
विभिन्न कम्पनीका दुई करोड तीन लाख ८७ हजार ४१३ कित्ता सेयर रु आठ अर्ब २९ करोड १७ हजार ११५ मूल्यमा खरिद बिक्री भएको छ ।
सबै उपसमूहमा सकारात्मक देखिएका छन् । कूल २६५ कम्पनीको सेयर बढ्यो भने १२ कम्पनीको सेयर घट्यो । त्यसैगरी एक कम्पनीको सेयर स्थिर रह्यो ।
नेप्सेका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैङ्क र मल्टिप्रपोज फाइनान्स कम्पनीलगायतका लगानीकर्ताले कमाएका छन् भने एभरेष्ट बैङ्क, केबिएल डिबेञ्चर बोटर्लस नेपाल बालाजुलगायत लगानीकर्ताले गुमाएका छन् ।
