सुन्दरकुमार थकाली
मुस्ताङ, भदौ ३१ । हिमाली क्षेत्रको जलवायु परिवर्तन चासोमा विश्वको ध्यानाकर्षण गर्दै मुस्ताङमा घरपझोङ जलवायु सम्मेलन समापन भएको छ ।
यो सम्मेलन गर्ने एक वर्षअघिदेखिको घरपझोङ गाउँपालिकाको सपना पूरा भएको छ ।
जलवायु परिवर्तनको असरबाट नेपालमात्र नभई विश्व नै प्रभावित भइरहेका बेला भएको सम्मेलनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरबाट समेत निकै चासोका साथ हेरिएको छ ।
गत वर्षकै भदौ अन्तिममा गरिन लागेको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ जेनजी आन्दोलनका कारण स्थगित गरिएको थियो ।
जलवायु परिवर्तनको प्रत्यक्ष असर खेपिरहेको हिमाली जिल्ला मुस्ताङमा उक्त सम्मेलन गर्नैपर्छ भन्ने जिल्लावासी र घरपझोङ पालिकाका जनप्रतिनिधिको एकै मतका कारण सम्मेलन सम्भव भएको हो ।
सम्मेलन जलवायु सङ्कटका मुद्दा उठान गर्ने मञ्चमात्रै थिएन, यसले मुस्ताङमा एकैसाथ सातै प्रदेशका सयौँ स्थानीय तहका जनप्रतिनिधिलाई एउटै मञ्चमा उतार्यो ।
जलवायु परिवर्तनबाट भएको असरसम्बन्धी मुद्दालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरसम्मै पुर्याउने लक्ष्यसहित गाउँपालिकाले सङ्घीय मामिला मन्त्रालयको समन्वयमा ७५३ वटै स्थानीय तहलाई पत्रचार गरेकामा ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका पदाधिकारी सम्मेलनमा उपस्थित भई ऊर्जा प्रदान गर्नुभयो ।
मुलुककै धार्मिक, सामाजिक र सांस्कृतिक हिसाबले महत्त्वपूर्ण मानिएको मुस्ताङ आफैँ पनि सामरिक महत्तवपूर्ण भूभागका रूपमा रहिआएको छ ।
सम्मेलनमा सहभागी हुने अधिकांशले प्रसिद्ध मुक्तिनाथको दर्शनका साथै मुस्ताङको स्याउ बगैँचा र यहाँको भौगोलिक सुन्दरतामा रम्ने अवसर प्राप्त गर्नुभयो ।
सम्मेलनमा गाउँपालिका उपाध्यक्ष जमुना थकालीले सम्मेलन आयोजना गर्नुपर्ने कारणबारे सहभागीलाई जानकारी गराउनुभएको थियो ।
सम्मेलनमा प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीलगायत केही प्रदेश, जिल्ला तह र स्थानीय तहका जनप्रतिनिधिले जलवायुबाट नेपालमा परेको असरबारे आफ्ना अनुभव र अनुभूति सुनाउनुभयो । उद्घाटन सत्रलगत्तै सुरु भएको प्राविधिक सत्रमा विषयविज्ञका रूपमा सहसचिव हरिप्रसाद शर्मा, प्रा डा विनोद दवाडी, विज्ञ डा कृष्णचन्द्र देवकोटा र सहसचिव गणेशप्रसाद भट्टले जलवायु परिवर्तनले पारेको असरसम्वन्धी विषयगत कार्यपत्र प्रस्तुत गर्नुभयो ।
