जुम्ला, भदौ २१ । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादन हुने भएको छ ।
उक्त निर्माण हुन लागेको जलविद्युत्को लागत करिब रु सात अर्ब ५० करोडभन्दा बढी लाग्ने आध्यनत फन्ड म्यानेमजेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले जानकारी दिनुभयो ।
तातोपानी गाउँपालिका–४ को आयोजना र आध्यनत फन्ड म्यानेमजेन्ट लिमिटेड काठमाडौँको सहजीकरणमा आयोजित गिडीखोला जलाशययुक्त जलविद्युत् आयोजनाको सरोकारवालासँगको समन्वय तथा परिचयात्मक कार्यशाला अन्तक्र्रिया कार्यक्रममा सो जलविद्युत्बारे जानकारी दिँदै आध्यनत फन्ड म्यानेमजेन्टका प्रमुख कार्यकारी अधिकृत थापाले गिडीदहको जलाशययुक्त जलविद्युत् आयोजनाले करिब ५० मेगावाट विद्युत् उत्पादन गर्न सक्ने प्रारम्भिक अध्ययन गरिएको बताउनुभयो ।
उहाँका अनुसार विस्तृत प्राविधिक तथा सम्भाव्यता अध्ययनपछि उत्पादन क्षमता अझ बढ्न सक्ने सम्भावनासमेत रहेको छ । उत्पादन भएको विद्युत्लाई १३२ केभी सिङ्गल सर्किटको प्रसारण लाइनमार्फत जुम्ला बजारमाको सबस्टेशनमा लगेर जोडिने छ । आयोजना कुल लागत सात अर्ब ५० करोड ७४ लाग्ने अनुमान गरिएको आध्यनतका प्रमुख सञ्चालक अधिकृत प्रमेशमान प्रधानको भनाइ छ ।
रासस
