काठमाडौं, असोज १५: दशकौँको अनुभव, सीप र जीवनका सिकाइलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले सरकारले ज्येष्ठ नागरिक अनुभव बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकका ज्ञान, सीप, पेसागत अनुभव र जीवनका भोगाइलाई डिजिटल माध्यमबाट अभिलेखीकरण गरी भावी पुस्ताका लागि उपयोगी बनाउने अवधारणा अघि सारेको हो।
३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा र हेरचाहका लाभग्राहीका रूपमा मात्र नभई समाजका अनुभवी ज्ञानदाता र नयाँ पुस्ताका मार्गदर्शकका रूपमा स्थापित गर्ने उद्देश्यसहित यो पहल अघि बढाएको जनाएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ज्येष्ठ नागरिकका ज्ञान, सीप, अनुभव र जीवनका सिकाइ राष्ट्रका अमूल्य बौद्धिक तथा सामाजिक सम्पत्ति भएको बताउनुभयो।
“ज्येष्ठ नागरिकका अनुभवलाई संरक्षण, अभिलेखीकरण र नयाँ पुस्तामा हस्तान्तरण गर्न डिजिटल प्रविधिको प्रयोगसहित ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ विकास गर्ने प्रक्रिया अघि बढाइएको छ,” उहाँले भन्नुभयो।
मन्त्रालयको अवधारणाअनुसार कृषि, उद्यमशीलता, पेसा, शिक्षा, प्रशासन, कला, संस्कृति, परम्परागत ज्ञान तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा ज्येष्ठ नागरिकले हासिल गरेका अनुभवलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरिनेछ।
यसरी संकलित ज्ञान र सीपलाई विद्यार्थी, युवा तथा नयाँ पुस्ताले सहज रूपमा अध्ययन गर्न, सिक्न र आवश्यक मार्गदर्शन लिन सक्ने प्रणालीका रूपमा क्रमशः विकास गर्ने लक्ष्य राखिएको छ।
मन्त्रालयले ज्येष्ठ नागरिकका अनुभव उनीहरूको जीवनकालसँगै हराएर जान नदिन र समाजको व्यावहारिक तथा परम्परागत ज्ञानको निरन्तरता कायम गर्न अनुभव बैंक उपयोगी हुने अपेक्षा गरेको छ।
मन्त्री वादीले ज्येष्ठ नागरिकको वास्तविक सम्मान उनीहरूका अनुभव सुनिने, ज्ञानको सम्मानपूर्वक उपयोग हुने र सामाजिक तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताको वातावरण सिर्जना हुने अवस्थामा मात्र स्थापित हुने बताउनुभयो।
परिवारको संरचनामा परिवर्तन, बसाइँसराइ, सहरीकरण र बदलिँदो जीवनशैलीसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा, हेरचाह, एक्लोपन र सामाजिक सहभागिताका चुनौती बढ्दै गएको उहाँको भनाइ थियो।
ज्येष्ठ नागरिकको जीवन सुरक्षित, सम्मानित र अर्थपूर्ण बनाउनु परिवार, समुदाय, समाज र राज्य सबैको साझा जिम्मेवारी भएको मन्त्री वादीले उल्लेख गर्नुभयो।
अनुभव बैंकको अवधारणाले ज्येष्ठ नागरिकलाई राज्यबाट सेवा र सुविधा प्राप्त गर्ने व्यक्तिका रूपमा मात्र नभई आफ्नो जीवनभरको ज्ञान र सीप समाजलाई हस्तान्तरण गर्ने सक्रिय साझेदारका रूपमा स्थापित गर्ने मन्त्रालयको अपेक्षा छ।
