दार्चुला, भदौ १९ : दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी आंशिक रूपमा थुनिएपछि स्थानीय प्रशासनले सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
नदी आसपास उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह यसैबीच जिल्ला प्रशासन कार्यालय दार्चुलाले चौलानी नदी आसपासका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज एक सूचना जारी गरी प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदीमा पहिरो खसेर नदी आंशिक रूपमा थुनिएपछि सम्भावित जोखिमबाट बच्न तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित निकायलाई सतर्क रहन आग्रह गर्नुभएको हो ।
पहिरो खस्ने क्रम जारी रहेकाले नदी पूर्णरूपमा थुनिन सक्ने र त्यसबाट जोखिम उत्पन्न हुन सक्ने प्रशासनले जनाएको छ । वर्षा र बाढीबारे जानकारी लिन १११५, विपद्मा मद्दत माग्न १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल ११४४ मा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।
यसैबीच, नदी आंशिक रूपमा थुनिएको खबर प्राप्त हुनासाथ सम्भावित जोखिमबारे स्थानीयलाई जानकारी गराउन सशस्त्र प्रहरीको टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल चमेलिया जलविद्युत् सुरक्षा बेस बलाँचबाट सशस्त्र प्रहरी सहायक निरीक्षक विनोद खड्काको कमाण्डमा १० जनाको टोली सूचना प्रवाहका लागि खटिएको सशस्त्र प्रहरी बल,नेपाल वैद्यनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले जानकारी दिनुभयो ।
“हाल नदीको बहाव सामान्य रहेको जानकारी छ । तथापि, पछि उत्पन्न हुने जोखिमलाई हेरेर हामीले उच्च सतर्कता अपनाउन आवश्यक सूचनाका लागि जनशक्ति परिचालन गरेका छौँ,” डिआइजी सुवेदीले भन्नुभयो ।
रासस
