काठमाडौं, भदौ २५। अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको विपत्ति भएको बताउनुभएको छ ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीनहरुको खोज तथा उद्धारमा प्राविधिक सहयोग गरिरहनुभएका डिक्सले सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विपत्तिको प्रकृति र उद्धारमा देखिएका चुनौती असाधारण रहेको बताउनुभयो ।
‘यस किसिमको विपत्ति विश्वमा विरलै भएको मेरो अनुभव छ । सम्भवतः यस्तो घटना पहिलो नै होला,’ उहाँले भन्नुभयो । डिक्सका अनुसार बाढीले करिब ७२ किलोमिटर क्षेत्रलाई प्रभावित बनाएको र कतिपय स्थानमा हवाई उद्धारबाहेक तत्काल अन्य विकल्प नै नरहेको अवस्था थियो । अत्यन्तै साँघुरा गल्छी, बिग्रिएका सडक तथा पुल र हेलिकप्टरसमेत अवतरण गर्न नसक्ने भौगोलिक अवस्थाका कारण उद्धार टोलीले ठूलो जोखिम मोलेर काम गरिरहेको उहाँले बताउनुभयो ।
‘हेलिकप्टर पनि ल्यान्ड गर्न नसक्ने अवस्थाबाट उद्धार गर्नुपर्ने स्थिति थियो । गल्छीहरू अत्यन्तै साँघुरा छन्। उद्धारकर्ताका लागि समेत यो अत्यन्त कठिन भूगोल हो,’ उहाँले भन्नुभयो ।
सतहमा ठूलो विनाश देखिए पनि त्यसका आधारमा भूमिगत संरचनाभित्र जीवित मानिसको सम्भावना समाप्त भएको निष्कर्षमा पुग्न नहुने उहाँले बताउनुभयो । जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचना अझै बाँकी रहेकाले सम्भावित जीवित व्यक्तिको खोजीलाई निरन्तरता दिनुपर्ने उहाँको धारणा छ ।
उहाँले नेपालका जलविद्युत् आयोजनाका इन्जिनियरिङ डिजाइन तथा सुरुङ संरचनाको अध्ययन गरिरहेको र विपत्तिपछि सुरुवाती चरणमै उपलब्ध डिजाइन, नक्सा तथा अन्य प्राविधिक विवरणको अध्ययन गरेर उद्धारको सम्भावित बाटो पहिचान गर्न थालेको बताउनुभयो ।
‘मैले जलविद्युत् आयोजना र सुरुङहरूको इन्जिनियरिङ डिजाइन अध्ययन गरेको छु । विपत्ति आएपछि सुरुमा मैले उपलब्ध डिजाइन र प्राविधिक तथ्यांक हेरेँ,’ उहाँले भन्नुभयो ।
डिक्सका अनुसार सामान्य अवस्थामा सुरुङभित्र हुने दुर्घटना वा उद्धारका विषय सार्वजनिक चर्चामा कमै आउने गर्छन् । तर सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा ४१ जना कामदारलाई १७ दिनपछि सकुशल उद्धार गरिएको घटनापछि उहाँ अन्तर्राष्ट्रिय रूपमा चर्चामा आउनुभएको हो ।
सिल्क्यारा उद्धारमा महत्वपूर्ण प्राविधिक भूमिका निर्वाह गर्नुभएका डिक्सले त्यसअघि पनि भूमिगत संरचना तथा टनेल सुरक्षासम्बन्धी क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएको थियो ।
नेपालमा भइरहेको उद्धार प्रयासप्रति अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता रहेको उल्लेख गर्दै डिक्सले विपत्तिका कारण पीडित नेपालीलाई आफूहरू एक्लो नभएको सन्देश दिन चाहेको बताउनुभयो ।
डिक्सले बाढीले जलविद्युत् आयोजनाका संरचनामा पुर्याएको क्षति केवल भौतिक पूर्वाधारको क्षति नभएको टिप्पणी गर्नुभयो । उहाँका अनुसार जलविद्युत् नेपालको राष्ट्रिय विकास, ऊर्जा सुरक्षा र सार्वभौमिकतासँग जोडिएको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रमा भएको विनाशलाई व्यापक दृष्टिले हेर्नुपर्छ ।
‘यो केवल मानवीय त्रासदी होइन, बौद्धिक र राष्ट्रिय क्षतिको विषय पनि हो । जलविद्युत् नेपालको राष्ट्रिय पहिचान, सार्वभौमिकता र स्वतन्त्रताका लागि धेरै महत्वपूर्ण छ,’ उहाँले भन्नुभयो ।
