वासिङ्टन डिसी, भदौ ३१ । इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको युद्धमा अमेरिकी रक्षा विभागको खर्च अगस्ट १ सम्ममा ३८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ ।
अमेरिकी संसद्को गैरदलीय बजेट कार्यालयले मंगलबार सार्वजनिक गरेको मूल्याङ्कनअनुसार युद्धको तीव्रताअनुसार आगामी दिनमा अमेरिकाको सैन्य खर्च प्रति महिना तीन अर्ब डलर वा त्यसभन्दा बढी हुन सक्नेछ ।
संसद्को बजेट कार्यालयले तयार पारेको उक्त मूल्याङ्कन अमेरिकी प्रतिनिधिसभाको बजेट समितिका शीर्ष डेमोर्क्याट सांसद ब्रेन्डन बोयलको सूचनाको अनुरोधपछि तयार गरिएको हो ।
युद्धका कारण मुद्रास्फीति बढ्ने अनुमान
बजेट कार्यालयका अनुसार इरान युद्धले अमेरिकी अर्थतन्त्रमा पनि असर पार्नेछ । युद्धका कारण सन् २०२७ को पहिलो त्रैमासिकसम्म मुद्रास्फीतिमा वृद्धि हुने अनुमान गरिएको छ ।कार्यालयले यसअघि गरेको अनुमानको तुलनामा मुद्रास्फीति करिब ०.५ प्रतिशत बिन्दुले बढी हुने जनाएको छ ।
यसको प्रमुख कारणमध्ये इरानसँग सम्बन्धित द्वन्द्वका कारण हर्मुज जलडमरूमध्य हुँदै हुने तेल तथा प्राकृतिक ग्यासको ढुवानीमा आएको कमी र लाल सागर हुँदै हुने समुद्री ढुवानीमा परेको अवरोधलाई उल्लेख गरिएको छ ।
हर्मुज जलडमरूमध्य विश्वको महत्वपूर्ण ऊर्जा तथा समुद्री व्यापारिक मार्गमध्ये एक हो । त्यहाँबाट हुने तेल तथा ग्यासको आपूर्तिमा अवरोध आउँदा अन्तर्राष्ट्रिय बजारमा ऊर्जा मूल्य तथा ढुवानी लागतमा दबाब पर्न सक्छ ।
एपी
