काठमाडौं, असोज १५: सार्वजनिक यातायातमा आगलागीको जोखिम न्यूनीकरण गर्दै यात्रुको सुरक्षा सुनिश्चित गर्न काठमाडौं उपत्यकाका सार्वजनिक सवारीसाधनमा अग्निनियन्त्रक उपकरण अनिवार्य गरिने भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रुट परमिटसँगै अग्निनियन्त्रक उपकरणको व्यवस्था अनिवार्य गर्ने तयारी गरेको हो। यससँगै सार्वजनिक सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य तथा आवश्यक कागजात र सुरक्षा उपकरणको नियमित अनुगमनलाई पनि थप प्रभावकारी बनाइने भएको छ।
ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले सार्वजनिक सवारीसाधनमा आगलागी नियन्त्रणका उपकरण अनिवार्य गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
विद्युतीय तथा प्राविधिक समस्या, इन्धन चुहावटलगायतका कारण जुनसुकै बेला सवारीसाधनमा आगलागी हुन सक्ने भएकाले आगो लाग्नासाथ नियन्त्रणमा लिन सक्ने उपकरण सवारीभित्रै राख्न आवश्यक रहेको उहाँले बताउनुभयो।
यात्रुको सुरक्षासँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकतामा राख्दै ट्राफिक प्रहरीले सम्बन्धित निकायसँगको समन्वयमा सार्वजनिक सवारीसाधनको नियमित निरीक्षण गर्ने तयारी गरेको छ।
ट्राफिक प्रहरीका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सवारीसाधनको अवस्था, चालकको फिटनेस, आवश्यक कागजात, रुट परमिट तथा अग्निनियन्त्रक उपकरणको उपलब्धता र प्रयोगयोग्य अवस्थाबारे नियमित अनुगमन गरिनेछ।
निर्धारित रुटमा सञ्चालन हुनुपर्ने सार्वजनिक सवारीसाधन आवश्यक कागजातबिना वा तोकिएको रुटभन्दा बाहिर सञ्चालन भइरहेको गुनासोसमेत प्राप्त भएको प्रहरीले जनाएको छ। त्यस्ता गतिविधि नियन्त्रण गर्न रुट परमिटसम्बन्धी व्यवस्थाको कार्यान्वयनमा थप कडाइ गरिने भएको छ।
सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यसहित ट्राफिक प्रहरीले दुर्घटनापछि उद्धारमा मात्र निर्भर नभई सम्भावित जोखिमलाई सुरुमै नियन्त्रण गर्ने उपायमा जोड दिएको छ।
