काठमाडौं, भदौ ३१। सर्वोच्च अदालतमा विगत पन्ध्र दिनमा दुई पटक आगलागी भएको छ। मंगलबार राति पनि सर्वोच्च अदालतको केही फाँटमा आगजनी भई फाइल तथा टेबल कुर्ची लगायत फर्निचर फिक्सर जलेर नष्ट भएको छ।
यस्तै गत भदौ १७ गते पनि सर्वोच्च अदालतमा सर्वोच्च अदालतको नयाँ भवनमा भूइँ तलामा रहेको अभिलेख शाखामा आगलागी भई दराजमा रहेको कागजात लिखतहरु जलेर नष्ट भएको थियो।

गत साल भदौ २४ गते अराजक समूहले सर्वोच्च अदालतमा पसी आगजानी र विध्वंशात्मक तोडफोड गरेर नष्ट हुन पुगेको पूरानो भवन हाल भत्काउन थालिएको छ ।
हाल सर्वोच्च अदालतमा बन्दै गरेको नयाँ भवनबाटै काम सुरु गरिएको छ । तर पछिल्लो समय सर्वोच्च अदालतमा पटक पटक आगलागी हुन थालेपछि घटना रहस्मय देखिएको छ ।
सर्वोच्च अदालतका कर्मचारी तथा प्रशासनका व्यक्ति कोही नभएको रातको समयमा आगलागी हुने गरेकाले घटना सन्देहास्पद हुन पुगेको देखिन्छ।
सर्वोच्च प्रशासनले भने विद्युतीय सर्ट भई आगलागी भएको हुनसक्ने बताउँदै आएको छ। तर यद्यपि के कति कारणले आगजनीका घटना भएको हो र त्यसबाट के कति क्षति भएको हो भन्ने पिन यथार्थ विवरण हालसम्म सर्वोच्च अदालतले सार्वजनिक गरेको छैन।
सर्वोच्च अदालत यसअघि भदौ १७ गते लागेको आगजानीको कारणबाट सूचनाको हक बमोजिम सूचना माग्दै सत्य र न्यायको खोजी अभियानले प्रशासन समक्ष निवेदन दर्ता गरेको भएपनि सो को सूचना सार्वजनिक नहुँदै फेरी दुई हप्ताको अन्तरालमा दोश्रो पटक आगजनी भएको हो।



घटना दुर्घटना वा लापरवाही वा नियोजित के हो भन्ने बारे सत्य र न्यायको खोजी अभियानले सूचना माग गरेको हो। अभियानले आगलागीको कारणबारे सोध्दै आगलागी भएको स्थानमा सिसिटिभी जडान भए नभएको तथा सो घटनाको छानबिन समिति गठन भए नभएको र के कसरी अनुसन्धान भइरहेको भन्ने पनि सूचना माग गरेको छ ।
अभियानका संयोजक वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले घटना नियोजित रुपमा कतै मिसिल जलाउने अभिप्रायले आगजनी गरिएको त होइन भन्ने आशंकाले आफूहरुले सूचना माग गरेको बताउनुभएको छ ।
