रसुवा, असोज २। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ताको खोजी गर्ने क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट थप ६ जनाको शव फेला पारिएको छ।
नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ सुरुङभित्र खोजी गर्ने क्रममा ढलानका लागि प्रयोग गरिएको फलामे डन्डीको जालीमा अल्झिएको अवस्थामा शवहरू फेला पारेको हो।
सुरुङभित्रको कठिन अवस्थाका कारण शव निकाल्न ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरण प्रयोग गरिएको सेनाले जनाएको छ। उद्धार टोलीले शवहरू सुरुङबाट बाहिर निकालेको छ।
सुरुङभित्र अझै हिलोले पुरिएका शवजस्ता आकृति देखिएकाले खोजी तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ। यसले आयोजनाभित्र अझै बेपत्ता व्यक्तिहरू हुन सक्ने संकेत गरेको छ।
माथिल्लो त्रिशूली–१ आयोजनामा बाढीपछि ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका थिए। पछिल्लो विवरणअनुसार बिहीबारसम्म आयोजनासँग सम्बन्धित ४९२ जना अझै सम्पर्कविहीन थिए भने ९३६ जनासँग पुनः सम्पर्क स्थापित भएको थियो। आयोजनामा बाढी आउँदा कुल १,४३३ जना कार्यरत रहेको बताइएको छ।
