रामानन्द जोशीका कलाकृति
काठमाडौं, असोज ७ ।
नेपाली कला आकाशका देदीप्यमान नक्षत्र वरिष्ठ कलाकार रामानन्द जोशीको सिर्जनात्मक चेत र साधनालाई जीवन्त राख्न ललितपुरको पुल्चोकमा आर.एन. जोशी आधुनिक कला संग्रहालयको स्थापना गरिएको छ ।
रामानन्द जोशी कला ट्रस्टको सक्रियतामा उहाँकै कर्मभूमि पार्क ग्यालरीलाई संग्रहालय विज्ञान अनुरुप कला संग्रहालयमा रुपान्तरण गरिएको हो । यो संग्रहालयलाई चाँडै नै औपचारिक रुपमा अनावरण गरिने ट्रस्टका अध्यक्ष एवम् जोशी सुपुत्र नवीन जोशीले जानकारी दिए ।
यो संग्रहालयले क्यानभासमा रङहरुको शङ्खघोष गर्ने तिनै महाशिल्पीको व्यक्तिगत जीवन, कला यात्रा र दर्शनलाई भाबी पुस्ताको लागि स्मृति तथा सिर्जनाको पवित्र कलास्थलको रुप ग्रहण गर्दैछ ।
ललितपुरको पुल्चोकस्थित जल विनायक जाने गल्लीमा यो संग्रहालय चित्रहरुको संग्रहालय मात्र होइन, बरु नेपाली आधुनिक कलाको एउटा सिङ्गो युगको धड्कनको रुपमा पल्लवित हुँदैछ ।
कलासाधक रामानन्द जोशीले सन् १९७० मा रोपेको पार्क ग्यालरीको बिरुवा आज पाँच दशकपछि रैखिक रेखाचित्र, तैलचित्र, र जलरङ्गका अनुपम पुष्पकुसुमहरु सजाएर एउटा भव्य संग्रहालयको रुपमा फक्रिदैछ ।
यस कला मन्दिरमा टेक्न पुग्ने जो कोहीले पनि जोशीको कुचीबाट निस्केकका रेखाहरुमा नेपाली माटाको सुवास र आध्यात्मिक गहिराइको साक्षात् अनुभूति गर्न सक्छन् । यो अनुसन्धानकर्ताका लागि ज्ञानको सागर र कलाप्रेमीका लागि आत्मिक शान्तिको विशाल छहारी बन्नेछ ।
यस संग्रहालयमा आर. एन. जोशीका कलाकृतिहरुको संरक्षण र संवद्र्धनको साथै कला शिक्षा, कला सम्पदा र बौद्धिक सम्पत्तिको अधिकारसम्बन्धि विभिन्न कार्यक्रमहरुमा पनि संग्रहालय केन्द्रीत रहने काठमाडौं विश्वविद्यालयका कला इतिहास प्राध्यापक प्रणवनमान सिंहले जानकारी दिए ।
एकीकृत नेपाल
