जेनजी सहिद परिवार कल्याणकारी समाजद्वारा तत्कालीन सङ्घीय संसद भवन नयाँबानेश्वरमा आज आयोजित जेनजी सहिद स्मृति दिवस समारोहमा सहभागी मन्त्रीहरु, विवादित धर्मगुरुहरु, जेनजी आन्दोलनका घाइते, सहिद परिवारलगायत । तस्बिरः भीष्मराज ओझा/रासस
काठमाडौं, भदौ २३ । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मृतिमा सरकारले आयोजना गरेको कार्यक्रम विवादमा परेको छ । शहीद परिवारका सदस्यहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएपछि स्मृति दिवस विवादमा परेको हो।
शहीदको बलिदान, न्याय र सुशासनको प्रश्न उठिरहेको बेला कार्यक्रममा सहभागी विवादित छविका धर्मगुरुहरू र गृहमन्त्री सुदन गुरुङको अभिव्यक्तिले पनि आलोचना निम्त्याएको छ।
यसैबीच, काठमाडौंको माइतीघरमा जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा सहभागी जेन जी अभियन्ता लक्ष्मीदेवी बस्नेतले आत्मदाहको प्रयास गर्नुभएको छ।
मंगलबार साँझ घटना भएपछि उपस्थित व्यक्ति र प्रहरीले तत्काल आगो नियन्त्रणमा लिएका थिए। उहाँलाई उपचारका लागि वीर अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिनुभएको छ।

प्रहरीका अनुसार बस्नेतको शरीरको करिब १० प्रतिशत भाग जलेको छ। वीर अस्पतालमा प्रारम्भिक उपचारपछि उहाँलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लैजाने तयारी भइरहेको एसपी थापाले बताउनुभएको छ।
शहीद परिवारको प्रश्न, सरकारको गैरजिम्मेवार जवाफ
नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा आयोजित स्मृति सभामा शहीद तथा घाइते परिवारका सदस्यहरूले आन्दोलनका क्रममा उठाइएका सुशासन र न्यायका सवाल अझै सम्बोधन नभएको गुनासो गरेका थिए।
कार्यक्रममा आफैलाई गोली हान्न लगाएर धार्मिक द्वन्द्व भड्काउन उद्यत भई विगतमा पक्राउ समेत परेका धर्मगुरु श्रीनिवास लगायतका व्यक्तिहरूलाई सहभागी गराइएको विषयमा पनि प्रश्न उठेको छ।
समारोहमा गृहमन्त्री गुरुङले आफूहरू दुई तिहाइ मत ल्याएर सरकारमा आएको र कसैले केही गर्न नसक्ने आशयको अभिव्यक्ति दिनुभएको भन्दै सहभागीहरूले आपत्ति जनाएका छन्।
गृहमन्त्रीले देशमा अब फेरि गोली चलाउने हिम्मत कसैले गर्न नसक्ने र आफूहरू शहीदहरूको सपना पूरा गर्न प्रतिबद्ध रहेको बताएपनि शहीद परिवार आश्वस्त हुन सकेनन् ।
स्मृतिदिवसको अर्थमाथि बहस

गएको वर्ष भदौ २३ गते जेनजी युवाहरुको आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूकाे सम्झनामा आज मङ्गलबार बानेश्वरस्थित बिरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको कार्यक्रममा दीप प्रज्वलन गर्दै युवाहरू ।
तस्बिर : विमलबहादुर विष्ट/रासस
जेनजी आन्दोलनको पहिलो वर्ष पूरा भएको अवसरमा आज देशभर सरकारी प्रायोजनमा विभिन्न कार्यक्रम आयोजना भएका छन्। नयाँ बानेश्वरमा भएको स्मृति दिवस कार्यक्रममा ७६ जना शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
शहीद परिवार र घाइतेहरूले उठाएका प्रश्नलाई सम्बोधन गर्नु स्मृति दिवसको मुख्य उद्देश्य हुनुपर्नेमा कार्यक्रममै सरकारको विरोध हुनुले राज्य र आन्दोलनबाट प्रभावित परिवारबीचको दूरी अझै कायम रहेको संकेत गरेको छ।
स्मृतिलाई औपचारिक समारोहमा सीमित नराखी न्याय, जवाफदेहिता र सुशासनको ठोस परिणामसँग जोड्नुपर्ने आवाज यस घटनाले पुनः उठाएको छ।
माइतीघरमा भएको आत्मदाह प्रयासले भने आन्दोलनपछि पनि युवाहरुमा गहिरो असन्तुष्टि रहेको देखाएको छ।
